सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप हुँदै, ४८ खेलाडी प्रतिस्पर्धामा

२०८३ असोज १६, ०३:५६ लक्ष्मण ढुङ्गाल

धनगढी: ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा हुन लागेको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

भाेलि १७ गते शनिबारदेखी  धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताका मेडल तथा ट्रफी सार्वजनिक गर्नुका साथै तयारीको अन्तिम अवस्थाबारे जानकारी दिएको हो।

आयोजक संस्था ब्ल्याक स्टोन फिटनेसका सञ्चालक तथा प्रतियोगिता संयोजक ज्ञानेन्द्र राज पाण्डेका अनुसार प्रतियोगितामा देश भरीका विभिन्न जिल्लाबाट ३३ पुरुष र १५ जना महीला खेलाडी गरी कुल ४८ जना खेलाडी सहभागी हुँदैछन्। 

प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियम तथा मापदण्ड अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स तथा पुरुष जुनियर्स विधामा प्रतिस्पर्धा हुनेछ।

खुला पुरुषतर्फ ६२ केजीभन्दा मुनि, ६२ देखि ६९ केजी, ६९ देखि ७७ केजी, ७७ देखि ८५ केजी, ८५ देखि ९४ केजी र ९४ केजीभन्दा माथि गरी छ तौल समूह रहनेछन् ।त्यसैगरी खुला महिलातर्फ ५३ केजीभन्दा मुनि, ५३ देखि ५८ केजी, ५८ देखि ६४ केजी र ६४ केजीभन्दा माथि गरी चार तौल समूह राखिएका छन् ।

४० वर्षभन्दा माथिका खेलाडीका लागि पुरुष मास्टर्स तथा २३ वर्षभन्दा मुनिका खेलाडीका लागि पुरुष जुनियर्स विधा रहनेछ । यसरी तौल तथा उमेर समूह गरी प्रतियोगितामा कुल १२ प्रतिस्पर्धात्मक समूह रहनेछन्।

खुला पुरुष तथा महिला तौल समूहका प्रत्येक विधामा प्रथम हुने खेलाडीले ३० हजार, द्वितीयले १५ हजार तथा तृतीय हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष मास्टर्स तथा पुरुष जुनियर्स विधाका समग्र स्वर्ण, रजत र कांस्य पदक विजेताले पनि क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताका समग्र पुरुष तथा समग्र महिला विजेतालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता खेलाडीलाई नगद पुरस्कारसँगै पदक, ट्रफी तथा उपहार सामग्री प्रदान गरिनेछ जनाइएकाे छ। 

नगद पुरस्कार, पदक तथा उपहार सामग्रीसहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस