सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुसभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

२०८३ असोज १९, ०७:३६ खबर संवाददाता

काठमाडौँः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा उपभोग गरेपछि नियम अनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियम अनुसार कानुनी कारबाही अगाडि बढाइने त्रिविद्वारा आइतबार जारी सार्वजनिक सूचनामा उल्लेख छ। तोकिएको समयभित्र सम्पर्क नगर्ने शिक्षक तथा कर्मचारीलाई कानुन अनुसार कारबाही गरिने त्रिविले जनाएको छ।  

त्रिविले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियम अनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपियाँ असुलउपर गरेको पनि जनाइएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ जनाबाट करिब १६ करोड ५० लाख रुपियाँ असुलउपर भइसकेको छ। 

त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो।

त्यस्तै थप अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ। त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी छ।   

कमेन्ट लोड गर्नुस