सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

२०८३ असोज २०, १२:३६ रासस

हुम्ला : नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनःसञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए ।
टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो ।

नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो ।
च्याममा राखिएको टावरमा समस्या नभए पनि मुगुको सोरुमा राखिएको टावर डाउन हुँदा कनेक्सन अवरुद्ध भएको र प्राविधिक टोली सोरुमा गई टावर मर्मत गरेपछि सेवा सञ्चालनमा आएको प्राविधिक प्रेम रोकायाले बताए ।
टावर बन्द हुँदा च्यामलगायत आसपासका नागरिक लामो समयसम्म मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए । आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो थियो ।

यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्री तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताए ।
यसअघि सुर्खेतबाट प्राविधिक टोली आएर टावरको अवस्था हेरे पनि आवश्यक सामग्री नपुगेपछि मर्मत पूरा नगरी फर्किएको थियो ।
लामो समयपछि फोरजी सेवा पुनःसञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन् ।
 

कमेन्ट लोड गर्नुस