सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान

२०८३ असोज २१, १२:५६ रासस

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थालाई यस्तो आह्वान गरिएको हो ।

सङ्घसंस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको सङ्ख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्नेछ ।

त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ । यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरण समेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ ।

प्राधिकरणको प्रवक्ता शान्ति महतले इच्छुक साझेदार सङ्घसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने जानकारी दिनुभयो । उनले भने, “अस्थायी आवास बनाउन इच्छुक सङ्घसंस्थाले त्यस सम्बन्धी सम्पूर्ण विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ । ”
 

कमेन्ट लोड गर्नुस