झोला सिलाएर आत्मनिर्भर बन्दै डडेल्धुराकी गौरी
डडेल्धुरा : अमरगढी नगरपालिका–५ तुफानडाँडाकी गौरी ऐर झोला सिलाएर मासिक रु २० हजार आम्दानी गर्दै आत्मनिर्भर बन्नुभएको छ ।
अमरगढी नगरपालिका–४ भलियाकी २९ वर्षीया उनले दुई वर्षदेखि ‘प्रगतिशील महिला लघुउद्यमी झोला समूह’ मार्फत झोला उत्पादन गर्दै आउनुभएको हो ।
नगरपालिकाबाट डेढ महिनाको तालिम लिएपछि उनले झोला उत्पादन सुरु गर्नुभएको हो । व्यवसाय सुरु गर्दा नगरपालिकाले कपडा र सिलाइ मेसिन पनि उपलब्ध गराएको उनले बताइन् । सुरुमा पाँच जना महिला आबद्ध रहेको समूहमा अहिले भने ऐर एक्लैले व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ ।
उनले टिफिन ब्याग, साइड ब्याग, स्कुल ब्याग र जेब्रा ब्यागलगायतका झोला उत्पादन गर्दै आउनुभएको छ । एउटा झोला तयार गर्न करिब चार घण्टा लाग्ने भएकाले दैनिक दुईदेखि तीनवटासम्म झोला उत्पादन गर्ने गरेको उनले बताइन् । उनले उत्पादन गरेका झोलाको माग डडेल्धुरासँगै बैतडीबाट पनि आउने गरेको छ ।
झोला बनाउन आवश्यक कच्चापदार्थ डडेल्धुरामा सहज रूपमा उपलब्ध नहुँदा धनगढीबाट ल्याउनुपर्ने बाध्यता रहेको ऐरले बताइन् हाल उपलब्ध मेसिनबाटै काम गरिरहनुभएकी उनले लगानी बढाएर व्यवसाय विस्तार गर्ने योजना सनाइन् । “पहिला सामान्य खर्चका लागि पनि घरपरिवारमाथि निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैले नै धान्दै आएकी छु”, उनले भनिन् ।
परिवारको सहयोग पाएकाले आफू आफ्नो पेसाप्रति सन्तुष्ट रहेको उनले बताइन् । उद्यमी ऐरले अन्य महिलालाई पनि सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्दै झोला बनाउन सिक्न चाहने महिलालाई सीप सिकाउन तयार रहेको बताइन् ।