प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरीले रोप्यो २०० बढी बिरुवा
धनगढीः ७१औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा सोमबार कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको हो। कार्यक्रमका क्रममा कार्यालय परिसरका विभिन्न स्थानमा विभिन्न प्रजातिका दुइसय भन्दा बढी बिरुवा रोपिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा कार्यालय परिसरको प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो। वृक्षरोपण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक महेन्द्र नेपालसहित वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रहरी दिवसको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षणप्रति प्रहरी संगठनको जिम्मेवारी र प्रतिबद्धतालाई उजागर गर्नुका साथै हरित वातावरण निर्माणमा योगदान पु¥याउने आस गरिएको छ।