सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण

२०८३ असोज २७, ०७:३४ रासस

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमवार आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
कार्यालयका अनुसार फिर्ता गरिएका सवारीसाधनमध्ये २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर छन्। ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका सवारीसाधनको खोजतलास गर्ने क्रममा ती सवारीसाधन फेला पारेको जनाएको छ।

प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा चोरी नियन्त्रणका लागि सक्रियता बढाउँदै आएको एसएसपी काफ्लेले बताए। सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गराउने कार्यले नागरिकको सम्पत्तिको सुरक्षा गर्नुका साथै प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ। 

“हराएका तथा चोरी भएका सवारीसाधनको खोजी र चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाउँदै आएको छ”, उनले भने, “सवारीसाधन हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीमा जानकारी गराउन तथा जथाभावी पार्किङ नगरी सुरक्षित स्थानमा राख्न हामी आग्रह गर्दछौँ।”

सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, सम्भव भएसम्म अतिरिक्त सुरक्षा उपाय अपनाउने र हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउँदा खोजीकार्यमा सहज हुने ट्राफिक प्रहरीको भनाइ छ। फेला परेका सवारीसाधन फिर्ता पाएपछि सम्बन्धित धनीहरूले खुसी व्यक्त गर्दै खोजीकार्यमा संलग्न ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए। 

कमेन्ट लोड गर्नुस