पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु
मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीबाट उत्तरपश्चिमी सहर पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको हो । उद्धारकर्ताहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि अस्पताल पु¥याएका छन् । घटनास्थलमा उद्धारकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए ।
दुर्घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । उनिहरूले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई आग्रह गरे ।
पाकिस्तानमा दशकौँदेखिको न्यून लगानी, पुराना रेलमार्ग र जीर्ण सङ्केत प्रणालीका कारण रेल दुर्घटना हुने गरेका छन् । सन् २०२३ मा दक्षिणी पाकिस्तानमा यात्रुवाहक रेलका १० वटा डिब्बा पटरीबाट खस्दा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी घाइते भएका थिए ।