गरिबीले खोस्यो दसैँको खुसी, सात हजार कमाइमा आठ जनाको परिवार
धनगढीः दसैँको रौनकले गाउँदेखि सहरसम्म छोएको छ। बजारमा किनमेल गर्नेहरूको भीड छ, घरघरमा मीठोमसिनो पाकिरहेको छ। तर, धनगढी उपमहानगरपालिका–१ स्थित मनकापुर शिविरमा बस्दै आएकी इन्द्रा दमाईको परिवारका लागि भने दसैँ खुसीभन्दा बढी अभाव र पीडा बनेर आएको छ।
इन्द्राको परिवारमा न पर्याप्त खाद्यान्न छ, न बिरामी हुँदा उपचार गराउने पैसा। परिवारका सदस्यलाई सुरक्षित राख्ने भरपर्दो घरसमेत छैन। अरूका घरमा दसैँको उल्लास छाइरहँदा उनको परिवार भने बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्तामा छ।
‘अरूका घरमा खुसी छ, रौनक छ। आफन्तहरू भेटघाट गर्न आउँछन्। तर, मेरो घरमा चिन्ता र रुवाबासी मात्रै छ,’ इन्द्रा भन्छिन्, ‘एक छाक खानसमेत धौधौ हुने हामीलाई चाडपर्वले झन् रुवाउँछ।’ इन्द्रा लामो समयदेखि बिरामी छिन्। बिरामीका कारण उनलाई घरभित्र र बाहिर गर्नसमेत कठिन छ। उनका श्रीमान् पनि प्यारालाइसिसका कारण हिँडडुल गर्न सक्दैनन्। दुवैजना अशक्त भएपछि परिवारको दैनिकी झन् कष्टकर बनेको छ। आर्थिक अभावले उनीहरूले आवश्यक उपचारसमेत सहज रूपमा गराउन सकेका छैनन्।
अहिले यो परिवारको मुख्य सहारा इन्द्राकी बुहारी जानकी नेपाली छिन्। उनी बिहानदेखि बेलुकासम्म अरूका घरमा भाँडा माझ्ने र घरायसी काम गर्छिन्। धनगढीका तीनवटा घरमा काम गरेर उनले मासिक करिब सात हजार रुपैयाँ कमाउँछिन्। तर, त्यो रकमले परिवारको छाक टार्नसमेत मुस्किल छ।
चार सन्तानकी आमा जानकीले आफ्ना छोराछोरीसँगै परिवारका आठ सदस्यको जिम्मेवारी पनि सम्हालिरहेकी छन्। उनका श्रीमान् रोजगारीका लागि भारत गएका थिए। तर, लामो समयदेखि उनको कुनै खबर नआएको जानकी बताउँछिन्। श्रीमान्को साथ र नियमित आम्दानी नहुँदा परिवार चलाउने जिम्मेवारी उनकै काँधमा छ। ‘कमाएको पैसाले खानकै लागि पनि पुग्दैन। घरमा चाहिने सामानको सधैँ अभाव हुन्छ,’ जानकी भन्छिन्।
सीमित आम्दानीले खाद्यान्न जुटाउनै मुस्किल भएपछि बालबालिकालाई नयाँ लुगा किनिदिने र दसैँमा मीठोमसिनो खुवाउने उनको रहर पूरा हुन सकेको छैन। औषधि उपचार र घर मर्मतजस्ता आवश्यकता त झन् टाढाको कुरा बनेका छन्। जानकीको परिवार बस्दै आएको घरको अवस्था पनि दयनीय छ। खरले छाएको कच्ची घरका भित्ताहरू भत्किएका छन्। कमजोर संरचनाको झुपडी जुनसुकै बेला भत्किन सक्ने जोखिममा छ। घरमा सुत्नका लागि खाटसमेत छैन। परिवारका सदस्य भुइँमा चटाई बिछ्याएर रात कटाउँछन्। ‘झुपडीमा सुतेको वर्षौं भयो। राति सुत्दा कतै केही अप्रिय घटना हुने हो कि भन्ने चिन्ता लागिरहन्छ,’ जानकी भन्छिन्।
एकातिर बिरामी सासू–ससुराको हेरचाह, अर्कोतिर बालबालिकाको खानपिन र भविष्यको चिन्ता। सीमित आम्दानीमा यी सबै जिम्मेवारी सम्हाल्न जानकीलाई सहज छैन। परिवारको अवस्था वर्षौंदेखि उस्तै रहेको उनीहरूको गुनासो छ। चुनावका बेला मत माग्न घरदैलोमा आउने राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो अवस्था देखेर पनि सहयोगका लागि फर्केर नआएको उनीहरू बताउँछन्।