सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुक्कसँग दसैँ मनाउन सुदूरपश्चिम प्रहरीको आग्रह

२०८३ कार्तिक ४, ०८:१४ खबर संवाददाता

धनगढीः आज दसैँको टीका। गाउँघरमा चहलपहल छ भने सहरका कतिपय घर र व्यापारिक प्रतिष्ठान सुनसान छन्। यही मौकामा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रदेशका नौवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गर्दै प्रहरीले पाँच हजार सुरक्षाकर्मी परिचालन गरेको छ। व्यक्तिगत तथा पारिवारिक सुरक्षामा ध्यान दिँदै ढुक्कसँग दसैँ मनाउन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईले नागरिकलाई आग्रह गरेका छन्।

‘खुसी, उमङ्ग र आपसी सद्भाव कायम राख्दै चाडपर्व मनाउन अनुरोध छ,’ डीआईजी भट्टराईले भने।

उनका अनुसार दसैँ, तिहार र छठलाई लक्षित गरी प्रहरीले गस्ती तथा निगरानी बढाएको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी, मोबाइल टोली र साइकल गस्तीसमेत परिचालन गरिएको छ। कुनै समस्या परे तत्काल प्रहरीलाई खबर गर्न उनले नागरिकलाई आग्रह गरेका छन्।

चाडपर्वका बेला सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले प्रहरीले ट्राफिक निगरानी कडा पारेको छ। तीव्र गति, जथाभावी सवारी चलाउने र ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी नचलाउन पनि डीआईजी भट्टराईले आग्रह गरेका छन्।

त्यस्तै, दसैँ मनाउन घर छाडेर बाहिर जाने परिवारलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले सुझाव दिएको छ। घरबाट निस्कँदा ढोका र झ्याल राम्ररी बन्द गर्ने, बहुमूल्य सामान सुरक्षित राख्ने तथा अपरिचित व्यक्तिको गतिविधिप्रति सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस