मादलको तालमा गुञ्जियो सखिया नाच, थारू संस्कृतिको पुस्तान्तरण
धनगढीः दसैँको रौनकसँगै थारू बस्तीमा मादलको ताल गुञ्जिन थालेको छ। महिलाहरूको सामूहिक नृत्य, परम्परागत गीत र धार्मिक आस्थासँग जोडिएको सखिया नाचले थारू समुदायका गाउँबस्तीमा दसैँको उमङ्ग थपेको छ।
पुर्खौंदेखि चल्दै आएको सखिया नाच थारू समुदायको मौलिक सांस्कृतिक पहिचान हो। दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाचमा महिलाहरू मादलको तालमा नाच्दै आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन्छन्। कुलदेवता र पितृको पूजा गरेपछि घरघरमा पुगेर सखिया नाच प्रस्तुत गर्ने चलन छ।
धनगढीकी प्रदेसिनी चौधरीका अनुसार सखिया नाच पुस्तौँदेखि चल्दै आएको परम्परा हो। दसैँका बेला प्रस्तुत गरिने यो नाचले समुदायका सदस्यलाई एकै ठाउँमा जोड्नुका साथै आपसी सद्भाव र एकतालाई बलियो बनाउने गरेको छ।
सखिया नाच सुरु गर्नुअघि धार्मिक विधिअनुसार पूजापाठ गर्ने र कुखुराको मासु, माछालगायत परिकार तयार पार्ने चलन रहेको नवराज चौधरी बताउँछन्। पूजापाठमा समुदायका गुरुवा र भलमन्सालगायतको सहभागिता रहने गर्छ। पूजा सम्पन्न भएपछि समुदायका सदस्यहरू सामूहिक रूपमा नाचमा सहभागी हुन्छन्।
सखिया नाच मनोरञ्जनमा मात्र सीमित छैन। यसमा गाइने गीतले धार्मिक तथा पौराणिक कथासमेत बोकेको हुन्छ। धनगढी श्रीलंकाका ऐतराम चौधरीका अनुसार सखिया नाचका गीतमा पाँच पाण्डव र विशेषगरी भगवान् श्रीकृष्णसँग सम्बन्धित प्रसङ्ग समेटिन्छन्। गीत र नृत्यमार्फत यस्ता कथालाई प्रस्तुत गरिने भएकाले सखिया नाच थारू समुदायको सांस्कृतिक विरासतका रूपमा रहँदै आएको छ।
दसैँको टीकापछि पनि जारी रहने सखिया नाच परम्पराअनुसार दसैँको भोलिपल्टसम्म चल्ने गर्छ। यसले परिवार र समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउँदै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँछ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहेका बेला थारू समुदायले भने सखिया नाचलाई निरन्तरता दिइरहेको छ। मादलको तालमा नाचिने यो मौलिक नृत्यले दसैँलाई सांस्कृतिक उत्सवका रूपमा जीवन्त बनाउनुका साथै पुर्खाको परम्परा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने कामसमेत गरिरहेको छ।