युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताए ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पु¥याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो ।
गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताए ।
अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ ।
अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् ।