दसैंको टीका निधारमै, मन भारी पार्दै भारत लाग्न थाले नेपाली
धनगढीः घरआँगनमा दसैंको रौनक सेलाउन पाएको छैन। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सजिएकै छन्। घरपरिवारसँगै बसेर मीठोमसिनो खाने, दुःखसुख साट्ने र केही दिन भए पनि आफ्नै गाउँघरमा रमाउने रहर अझै मरेको छैन। तर, पेट पाल्नुपर्ने बाध्यता र रोजगारीको खोजीले उनीहरूलाई फेरि जन्मभूमि छाडेर परदेशको बाटो समात्न बाध्य बनाएको छ।
नेपालीहरूको महान् चाड बडादशैं सकिन नपाउँदै त्रिनगर भन्सार नाका हुँदै भारत जाने नेपालीहरूको लर्को लाग्न थालेको छ। दशैं मनाउन बिदा मिलाएर घर फर्किएका नेपालीहरू केही दिनको पारिवारिक भेटघाटपछि पुनः रोजगारीका लागि भारत फर्किरहेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी शशीराम पनि दसैं मनाउन छोटो बिदा लिएर घर फर्किएका थिए। परिवारसँग केही दिन बिताउने र चाडपर्व मनाउने उनको रहर थियो। तर, बिदाको समय सकिएपछि उनी फेरि भारत जान बाध्य भए। आफ्नै देशमा बसेर परिवारसँगै जीवन बिताउने चाहना हुँदाहुँदै पनि रोजगारीको विकल्प नहुँदा परदेश फर्किनुपरेको उनको भनाइ छ। जन्मभूमि छाडेर जानुपर्दा मन भारी भए पनि पेट पाल्नकै लागि भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘घरबाट बिदा मागेर निस्कँदा फेरि कहिले भेट हुने हो भन्ने अनिश्चितताले मन झन् भारी बनाउँछ,’ उनी भन्छन्।
दशैंका बेला भारतबाट घर फर्किएका नेपालीका कारण सुदूरपश्चिमका गाउँघरमा चहलपहल बढेको थियो। विदेशिएका छोराछोरी घर फर्किएपछि सुनसान बनेका आँगनमा खुसी छाएको थियो। परिवारका सदस्य एकै ठाउँमा भेला भएका थिए। तर, अहिले परिस्थिति फेरिँदै छ। चाडपर्वको खुसी साट्न घर आएका उनीहरू फेरि भारत फर्किन थालेपछि गाउँघरका आँगन पुनः सुनसान बन्दै छन्।
नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा भारतीय श्रम बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको बताउँछन्, त्रिनगर नाकामा भेटिएका डोटीका मनोज खड्का। ‘आफ्नै देशमा काम गर्ने अवसर पाए भारत जानुपर्ने थिएन,’ उनले भने, ‘आफ्ना छोराछोरीसँगै बस्ने, वृद्ध आमाबुबाको हेरचाह गर्ने र चाडपर्वमा परिवारसँग रमाउने चाहना त सबैको हुन्छ। तर, आर्थिक अभाव र बेरोजगारीले चाहनालाई सीमित बनाइदिएको छ।’
कैलालीको त्रिनगर नाकाबाट सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका साथै लुम्बिनी र कर्णाली प्रदेशका नागरिकसमेत रोजगारीका लागि भारत जाने गरेका छन्। उपलब्ध तथ्यांकअनुसार शुक्रबार मात्रै उक्त नाकाबाट एक हजार ५०० भन्दा बढी नेपाली भारत गएको देखिएको छ। चाडपर्वमा घर फर्किने र चाड सकिएपछि फेरि भारत पस्ने यो चक्र कहिलेसम्म चलिरहने हो ? यसको जवाफ रोजगारीको खोजीमा जन्मभूमि छाडिरहेका हजारौँ नेपालीले पर्खिरहेका छन्।