अछाम र कैलालीबाट नगदसहित १५ जना जुवाडे पक्राउ
धनगढीः अछाम र कैलालीबाट नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन्।
अछामको मंगलसेन नगरपालिका–५ मंगलसेन बजार स्थित सोही ठाउँ बस्ने नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर बिष्ट समेत ८ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ५२५ र एक गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारी स्थित सोही ठाउँ बस्ने ४५ वर्षीय हरी दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरी दयाल समेत ७ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।