सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेस बरामद

२०८३ कार्तिक ११, ०३:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रहरीले ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ। लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यु खप्तड नेपाल होटलमा जाँच गर्दा चरेस बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ का ३५ वर्षीय सुरेन्द्रबहादुर बुढाले आफू बसेको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषध चरेससहित बुढालाई नियन्त्रणमा लिएर कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस