सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द विश्वविद्यालयका उपकुलपति जोशी भन्छन्– पवित्र संस्थामाथि गम्भीर प्रहार भयो

२०८३ कार्तिक १३, ०८:०८ खबर संवाददाता

धनगढीः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीले विश्वविद्यालयमाथि गम्भीर प्रहार भएको बताएका छन्।

डा. गोविन्द केसीले एमबीबीएस र नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय खारेज गर्न माग गर्दै सत्याग्रह सुरु गरेपछि उपकुलपति जोशीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘हामीहरूको पवित्र संस्था शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमाथि गम्भीर प्रहार भएको अनुभव गरेका छौँ। यो हाम्रो प्रतिष्ठा र आत्मसम्मानमाथिको प्रहार हो,’ जोशीले लेखेका छन्।

उनले अब के गर्नुपर्ने हो भन्दै सुदूरपश्चिमवासी र आम नेपालीसँग मार्गदर्शनसमेत मागेका छन्। डा. केसीले सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि छानबिन र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने माग राख्दै बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्।

गेटामा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको भन्दै उनले एमबीबीएस र नर्सिङ कार्यक्रम सञ्चालनको निर्णय खारेज गर्न माग गरेका छन्। साथै, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने उनको माग छ।

कमेन्ट लोड गर्नुस