सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पर्यटकीय गन्तव्य मकवानपुर

२०८३ कार्तिक १३, ०३:२८ रासस

बागमती :प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर । प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका गन्तव्यहरूमा अपेक्षित पर्यटक भने भित्र्याउन सकिएको छैन ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडासहित यहाँका १० वटै पालिकामा विभिन्न पर्यटकीय गन्तव्यहरू रहेका छन् । थुप्रै गन्तव्यहरू रहेको जिल्लामा यसअघि २०७६ सालमा यहाँका १० वटै पालिकाका तीन/तीन वटा गन्तव्यलाई पर्यटकीय स्थलका रुपमा पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएको थियो । यसक्रममा यहाँका पालिकाहरूमध्ये हेटौंडा उपमहानगरपालिकामा शहीद स्मारक, चुरियास्थित सुरुङमार्ग र चुरियामाई मन्दिर तथा गुम्बाडाँडामा रहेको मूर्तिकला बगैंचालाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको थियो । त्यतिबेला थाहा नगरपालिकामा रहेका दामन, सीमभञ्ज्याङ्ग, चित्लाङ र राष्ट्रिय विभूति पार्कलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो भने मनहरि गाउँपालिकामा रहेका शान्ति पार्क, रमौली जङ्गल सफारी र बनकरिया होमस्टे छनोट भएका थिए । त्यस्तै मकवानपुरगढी गाउँपालिकामा सेनकालीन इतिहासको साक्षी मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्क पर्यटकीय गन्तव्यमा समेटिएका थिए ।

यहाँको भीमफेदी गाउँपालिकाका ऐतिहासिक चिसापानी गढी, हात्तीसार र त्रिखण्डी मन्दिर क्षेत्रका साथै राक्सिराङ गाउँपालिकाका पाइराङ भीम्बुङ, जलपरि झरना, चमेरे गुफा र चैनपुरस्थित चेपाङ सङ्ग्रहालयलाई पर्यटकीय गन्तव्य छनोट गरिएको थियो । इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर ताल, भालेश्वर मन्दिर र मदन भण्डारी फाखेल मैत्रीपार्क, चौकोट देवी मन्दिरलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो भने कैलाश गाउँपालिकाका कैलाश बैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो । 
बकैया गाउँपालिकाको गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क एवम् बागमती गाउँपालिकामा रहेका झुरझुरेस्थित शहीद स्मारक पार्क, गोल्मे दरबार क्षेत्र र बेतिनीस्थित बनभोज स्थललाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो । प्रत्येक पालिकाका तीन÷तीनवटा गन्तव्यलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिए पनि तिनीहरूको आवश्यक प्रवद्र्धन भने हुन नसकेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् । पछिल्ला वर्षमा यहाँका हरेक पालिकाले पर्यटन र कृषिलाई नै मुख्य प्राथमिकतामा राखेको पाइन्छ । 

हेटौँडासहित जिल्लाका विभिन्न गन्तव्यहरू पर्यटन प्रवद्र्धनको पखाईमा रहेको हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापा गमरले बताए । जिल्लाका गन्तव्यहरू पर्यटकीय उपयोग गर्नका लागि स्थानीय तहहरूको विशेष सकृयता आवश्यक हुने उनको भनाइ छ । पर्यटनमा धेरै सम्भावित ठाउँ हुँदाहुँदै यसको उचित उपयोग हुन नसकेको वास्तविकतालाई सबैले मनन् गर्नु आवश्यक रहेको उनले बताए । 

कुनकुन छन् त प्रमुख पर्यटकीय गन्तव्य

हेटौँडास्थित सहिद स्मारक मकवानपुरमा धेरै पर्यटकहरू आउनेमध्येको एक गन्तव्य हो । पर्यटकलाई लक्षित गरी वर्षको ३६५ दिन नै यो स्मारक खुला राख्ने गरिएको छ । विशेषगरी बिदाका समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू स्मारक क्षेत्रको भ्रमण गर्ने गरेको कार्यालयका लेखा अधिकृत आशिष बिडारी बताए । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको छ । विशेषतः सार्वजनिक बिदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको स्मारकमा नयाँ वर्षको दिनमा त यहाँ ३० हजारसम्म पर्यटक आउने गरेको तथ्याङ्क छ । 

स्मारक घुम्न आउने पर्यटकका लागि विभिन्न दरका टिकट दस्तुर निर्धारण गरिएको छ । नेपाली सर्वसाधारणका लागि प्रतिव्यक्ति ५०, विद्यार्थीका लागि  ३० टिकट शुल्क तय गरिएको छ । विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका पर्यटकका लागि १०० र अन्य विदेशी मुलुकका पर्यटकका लागि १५० टिकट शुल्क निर्धारण गरिएको छ । विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदहरुलाई समेट्ने गरी १२ जना सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिको रुपमा एक/एक महिला र पुरुषको अमुक आकृति समावेश गरी बनाइएको सहिद स्मारकको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते अनावरण गर्नुभएसँगै स्मारकको विकासक्रम सुरु भएको थियो । स्मारक परिसरमा बनभोजस्थलदेखि बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जीप, ट्रेन, आदि रहेको छ भने वयस्कको लागि रोटेपिङ, नाउडुङ्गा, फ्लाइङ चेयर, फ्लाइङ कार आदि सञ्चालित छन् । त्यस्तै साहसिक मनोरञ्जनात्मक खेलहरू जिपलाइन, रोलर कोस्टर जिपलाइन, स्काइ साइकल पनि सञ्चालन गरिएको छ । साहसिक मनोरञ्जनात्मक खेलका लागि निजी क्षेलाई लिजमा दिएर सञ्चालन गरिएको छ भने हालै जातीय सङ्ग्रहालय समेत स्थापना गरिएको छ ।

स्मारक परिसरमा ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहित आकर्षक बगैँचा, फाउण्टेनसहितको प्रजातान्त्रिक पार्क, सम्पूर्ण सहिदहरूलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लो १९ मिटर गोलाइको सहिदस्तम्भ, चिडियाघर आदि संरचना रहेका छन् ।
हेटौँडा उपमहानगर क्षेत्रभित्रै रहेका दक्षिण एशियाकै पहिलो चुरिया सुुरुङ मार्गदेखि चुरिया माई, हर्नामाडीमा रहेको १४ देशका २३ मूर्तिकारले सिर्जना गरेका मूर्ति राखिएको मूर्ति संग्रहालय, जुरेथुुमस्थित ४२ फिट अग्लो श्रीकृष्णको मूर्ति आदि गन्तव्यहरूमा अझै अपेक्षित पर्यटक पु¥याउन सकिएको छैन । हेटौंडाकै महाभारतकालीन इतिहासको साक्षी भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणीधाम, एक दिवशीय हाइकिङसँग जोड्न सकिने भैरवडाँडास्थित पाथीभर मन्दिर आदि स्थानहरू प्रवद्र्धनको पर्खाइमा छन् त्यस्तै वृन्दावन, पुष्पलाल पार्क, गुम्बा डाँडा (मूर्तिकला उद्यान), र जुरेथुम आदि यहाँका महत्वपूर्ण सम्पदास्थल हुन् । 

हेटौँडाको पर्यटकीय सम्भावनालाई लक्षित गरी उपमहानगरपालिकाले पर्यटन केन्द्रित विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उपमहानगरपाकिाका प्रमुख मीनाकुमारी लामाले बताए । उपमहानगरपालिकाले हेटौँडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘हेटौंडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतिक चिह्न तयार गर्न लागिएको प्रमुख लामाले बताए ।

उक्त प्रतीक चिह्न तयार गर्ने सम्बन्धमा उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक, कलाकार, डिजाइनर तथा सङ्घ÷संस्थाहरूलाई आह्वान समेत गरेको थियो । उपमहानगरपालिकाबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमलाई पर्यटन वर्षकै सन्दर्भमा जोडेर सञ्चालन गरिँदै आइएको उनले बताए । “उपमहानगरपालिका पर्यटनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ”, उनले भने, “पर्यटन लक्षित विभिन्न पूर्वाधार विकासमा सहयोगसँगै प्रवद्र्धनमा हामीले जोड दिदै आएका छौंँ ।”
मकवानपुुर जिल्लाकै पर्यटकीय गन्तव्यमध्ये मकवानपुुर गढी गाउँपालिकास्थित ऐतिहासक मकवानपुरगढी सेनकालीन इतिहासको साक्षी हो । नेपालको एकीकरणपूर्व एउटा शक्तिशाली राज्यका रुपमा रुपमा रहेको मकवानपुरगढी दरबार तत्कालीन वास्तुुकला शिल्पको अनुुपम उदाहरण समेत हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको गन्तव्य हो । 

हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ । गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरणसँगै उक्त कालखण्डको राज्यको सुरक्षात्मक उपायलाई जीवन्त रुपमा चित्रण गरेको छ ।
सेन वंशका राजाहरूले १३औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेनवंशका प्रतापी राजा मुकुन्द सेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको पाइन्छ । यस गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी विभिन्न पूर्वाधार निर्माणका कामहरू अघि बढाइएको मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिए ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारीमा रहेको ‘जलपरी झरना’ जिल्लाको अर्को महत्त्वपूर्ण पर्यटकीय आकर्षण हो । हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर दूरी र मनहरिबाट करिब १० किलोमिटर दूरी पार गरेपछि यस जलपरी झरनामा आउने आउन सकिने राक्सिराङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उत्तम वाइबाले बताए । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको यस झरनाको प्रवद्र्धनसँगै यहाँकोे पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए । राक्सिराङमा नै रहेका सीता अशोक बाटिका जस्ता थुप्रै पर्यटकीय गन्तव्य प्रवद्र्धनको पर्खाइमा रहेका छन् । झरनासँगै यहाँको चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको बताउँदै उनले यहाँको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसको संरक्षण र प्रवद्र्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको बताए । यहाँको पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म एक करोड २७ लाख बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएको उनको भनाइ छ ।

जिल्लाकै दक्षिण–पूर्वी भागमा अवस्थित बकैया गाउँपालिका कृषि, पशुपालन तथा पर्यटनलाई प्राथमिकताका साथ अघि बढाउन खोजेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पालिका–६ स्थित गौतम बुद्ध पार्क, वडा नं ७ स्थित धनेश्वर पार्क, वडा नं १० स्थित अम्बास गढी, वडा नं १२ स्थित लटरम्वेश्वर महादेव मन्दिर लगातका थुप्रै पर्यटकीय गन्तव्य यस पालिकामा रहेका छन् । जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन र विकासमा सबैको एकतावद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
 

कमेन्ट लोड गर्नुस