सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रवद्र्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

२०८३ कार्तिक १८, ०१:१६ रासस

काठमाडौँ  :पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्न लागेको हो ।

बोर्डले नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्पराको डिजिटल प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि बडादसैँको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध सङ्घसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ हालिएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गर्ने योजनाअनुसार उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक श्रव्य दृश्य सामग्री(भिडियो रिल) तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख पुरस्कार प्रदान गरिनेछ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाएर पूजा गरिन्छ ।यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने उद्देश्य प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेले तयार पार्ने रिल अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल(उपशीर्षक) वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर (वाचन)अनिवार्य गरिएको छ । सहभागीले आफ्नो श्रव्य दृश्य सामग्री इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी नेपाल फेस्टिबल/कुकुर तिहार ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा नेपाल टुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने जनाइएको छ । 

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने श्रव्य दृश्य मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त श्रव्य दृश्य सामग्रीहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवद्र्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । 

बोर्डका अनुसार प्रतियोगितामा सहभागी हुन श्रव्य दृश्य सामग्री पठाउने अन्तिम मिति यही नोभेम्बर २१ ९मङ्सिर ५ गते० सम्म तोकिएको छ । कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिनेछ । 

डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित यो प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।  

कमेन्ट लोड गर्नुस