सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनले ७ अर्ब डलर लगानी गर्ने

२०८३ मंसिर २, ०४:४८ रासस

काठमाडौं :अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर ९करिब नौ खर्ब ८० अर्ब रुपैयाँ० लगानी गर्ने घोषणा गरेको छ ।

यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन क्षमता बढाउनुका साथै कम्पनीका सञ्चालनमा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्‍याउने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न करिब दुई खर्ब २० अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान छ ।

अमेजनले यसअघि नै भारतको नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । कम्पनीले आफ्नो विद्यमान लगानी कार्यक्रमअन्तर्गत ९३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजनासमेत घोषणा गरेको छ ।

अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन योजना र उद्योग क्षेत्रसँगको सहकार्यको परिणाम भएको बताएकी छन् । थप सात अर्ब डलरको लगानीले नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना सञ्चालनमा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ ।

यद्यपि, कम्पनीले नयाँ लगानी कुन परियोजनामा र कसरी खर्च गर्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

भारतले पछिल्लो एक दशकमा स्वच्छ ऊर्जा विस्तारलाई तीव्रता दिएको छ । हाल भारतको कुल जडित विद्युत् उत्पादन क्षमताको ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु तथा जलविद्युत्लगायत गैरजीवाश्म इन्धन स्रोतबाट प्राप्त हुने गरेको छ ।

बढ्दो विद्युत् माग पूरा गर्दै जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न भारतले नवीकरणीय ऊर्जा उत्पादन विस्तारलाई प्राथमिकता दिँदै आएको छ । अमेजनको पछिल्लो लगानी पनि आफ्नो विश्वव्यापी सञ्चालन, विशेषगरी डेटा सेन्टर तथा अन्य सुविधामा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउने रणनीतिको हिस्सा हो ।

कमेन्ट लोड गर्नुस