सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो मौसममा बढ्न सक्छ स्वास्थ्य समस्या, चिकित्सकको यस्तो सुझाव 

२०८३ मंसिर ९, ०९:१९ लक्ष्मण ढुङ्गाल

धनगढीः चिसो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिलाई चिसोबाट जोगाउन चिकित्सकहरूले सुझाव दिएका हुन्। मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो आउने र शरीर दुख्ने जस्ता समस्या देखिन सक्छन्। चिसोले दम, हाडजोर्नी, छाला तथा नसासम्बन्धी रोग भएका बिरामीको स्वास्थ्यमा थप असर पार्न सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो मौसममा नाक, कान, घाँटी र फोक्सोको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। 

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. अनिरुद्र थपलियाले चिसो हावाबाट बच्न बिहान र साँझ मौसमअनुसार न्यानो कपडा लगाउन आग्रह गरेका छन्। उनका अनुसार सन्तुलित तथा मौसमी खानपानमा ध्यान दिनुका साथै आवश्यकताअनुसार फलफूल सेवन र नियमित शारीरिक व्यायाम गर्नुपर्छ। 

चिसोबाट जोगिन बिहानको घाम ताप्ने, क्याल्सियमयुक्त खानेकुरा खाने तथा धूमपान र मदिरा सेवनबाट टाढा रहन चिकित्सकको सुझाव छ। त्यस्तै, चिसोबाट बच्न घरभित्र कोइला बालेर नसुत्न र हिटर प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्ने डा. थपलियाले बताए। 

चिसोका कारण रुघाखोकी लाग्ने, ज्वरो आउने र शरीर दुख्नेजस्ता लक्षण देखिएमा बेवास्ता गर्न नहुने चिकित्सकहरू बताउँछन्। घरेलु उपचारमा मात्र निर्भर नभई स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकसँग परामर्श लिन डा. थपलियाले आग्रह गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस