धनगढीको कपडा बैंकलाई लियो क्लब अफ धनगढी सिटीले गर्याे न्यानो कपडा सहयोग
धनगढी : धनगढीस्थित कपडा बैंकलाई १०६ थान न्यानो कपडा सहयोग गरिएको छ ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एन, नेपालको मातहतमा रहेको लियो क्लब अफ धनगढी सिटीले कपडा बैंकमै पुगेर १०६ थान न्यानो कपडा सहयोग गरेको हो ।
मानवता, सहयोग र सेवाभावलाई आत्मसात् गर्दै क्लबले कपडा सहयोग तथा वितरण कार्यक्रम आयोजना गरेको जनाएको छ । जाडो मौसममा न्यानो कपडाको अभाव झेलिरहेका विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग पुगाउने उद्देश्यले कपडा हस्तान्तरण गरिएको हो ।
धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा रहेको छ । कपडा बैंकले हुनेले सहयोग गर्ने र नहुनेले आवश्यकताअनुसार कपडा लैजान सक्ने व्यवस्था गर्दै आएको छ । यहाँ संकलन भएका कपडाहरू विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क वितरण गरिँदै आएको छ ।