सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज र भोली पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

२०७६ कार्तिक २, ०८:१७ खबर संवाददाता

सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो।

नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन्। शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ। स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने छन्।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने बताए।

साथै छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत छ। भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन्।
 

कमेन्ट लोड गर्नुस