एकै छानाबाट तीन सेवा
छुट्टाछुट्टै कार्यालय रहेर विकेन्द्रीकरण सेवा दिँदै आएका स्वास्थ्य कार्यालय एकीकरण गरेसँगै एकै छानाबाट सेवा प्रवाह शुरु भएको छ। कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालयलाई एकीकृत गरी एकै छानामा राखेपछि सेवाप्रवाह छिटो, छरितो भएको हो।
स्वास्थ्यसँग सम्बन्धित यी तीन कार्यालय एकै ठाउँ र एकै कार्यालयबाट सञ्चालन भएपछि स्वास्थ्यकर्मीलाई पनि सेवाप्रवाह र अनुभव आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेलेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा रविन भुषालले बताए।
पछिल्लो समयमा सेवा प्रवाहमा चुस्त बन्दै आएको स्वास्थ्य सेवा अहिले एकीकरणले बिरामीलाई राम्रो भएको स्वास्थ्य सेवा कार्यालय विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए। कार्यालय एकीकरणसँगै भाडामा रहेको आयुर्वेद कार्यालय सरकारी कार्यालयमा सरेको छ। नयाँ निर्माण भएका भवनबाट स्वास्थ्य कार्यालयले सेवाप्रवाह गर्न थालेको छ। केही महीनाभित्र स्वास्थ्य सेवा कार्यालयको अत्याधुनिक भवन निर्माणकार्य शुरु हुने बताइएको छ। रासस