सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल चलाउँदै र टीभी हेर्दै मानसिक रोगको उपचार

। फोटो स्रोत ।
२०७६ मंसिर ३, ०७:२२ खबर संवाददाता

आरामले सुतेर मोबाइल चलाउँदै र टीभी हेर्दै उपचार हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला। तर मानसिक रोगको उपचारका लागि यस्तो प्रविधि नेपाल भित्रिएको छ। ललितपुरमा रहेको रिदम न्यूरोसाइक्याट्रिक अस्पताल एण्ड रिसर्च सेन्टरमा यस्तो प्रविधिमार्फत मानसिक रोगीको उपचार सुरु भएको हो। बीपीएडी भन्ने मानसिक समस्या भएको एक महिलाको यो प्रविधिबाट सफल उपचार भैसकेको अस्पतालले जनाएको छ। बीपीएडी कडा खालको मानसिक समस्या हो। डिप्रेसन बढ्दै जाँदा यस्तो खालको समस्या देखिन सक्छ। 

ती महिलालाई १९ वर्षको हुँदा यस्तो समस्या देखिएको थियो। २५ वर्षको उमेरसम्म धेरै अस्पताल धाइन्। तर कुनै अस्पतालको औषधि र परामर्शले काम गरेन। १० महिना पहिले  रिदम न्यूरोसाइक्याट्रिक अस्पतालमा आरटीएमएस प्रविधिको प्रयोग गरेपछि उनलाई सुधार भएको छ। ती महिलाजस्तै अरु १५ जना मानसिक समस्या भएकालाई यो प्रविधिको प्रयोग गरेर सफल उपचार गरिएको अस्पतालले जनाएको छ।

आरटीएमएस (रिपिटिटिभ ट्रान्सक्र्या्नियल म्याग्नेटिक स्टिमुलेसन) मेसिनबाट मानसिक रोगको उपचार सुरु भएको १० महिना भएको छ। अस्पतालका मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार सन् १९८० देखि यो मेसिनको सुरुवात भएको हो। ‘कति रोग औषधिबाट ठिक हुन्छ, कति काउन्सिलिङबाट अनि कतिलाई दुवै तरिकाबाट उपचार गर्नुपर्ने हुन्छ, डा. थापाले भन्नुभयो’, ‘लामो समयदेखि औषधि खाएर पनि ठिक नभएका बिरामीका लागि यो प्रविधिको माध्यमबाट उपचार गर्दा ठिक भएको छ।’ नेपालका लागि यो प्रविधि नयाँ भएको उनले बताए।

कडा खालका मानसिक रोग सिजोफ्रेनिया, ओसीडी डिप्रेसन, मानसिक सन्तुलन बिग्रिएका तथा अडिटरी हेलुसिनेसन बिरामीको उपचारमा यो प्रविधि प्रयोग गरिन्छ। लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिलाई पनि यो प्रविधिको प्रयोगले उपचार सफल भएको डाक्टर थापाले बताए। ‘यो प्रविधिले डिप्रेसन, कडा खालका मानसिक रोगलाई ठिक गर्ने हो तर अहिले बहुउपयोगी बनेको छ, अरु समस्या पनि समाधान गर्न सकिन्छ’, उनले भने।

डाक्टर थापाका अनुसार यो प्रविधिमार्फत मेसिनको माध्यमबाट बिजुली जोडेर उपचार गरिन्छ। हप्तामा पाँच दिन लगातार र दुई दिन बिराएर फेरि लगातार १० पटकसम्म गरेपछि बिरामीलाई पूर्ण ठिक हुन्छ। अस्पतालकी नर्सिङ इञ्चार्ज कामना जिसीका अनुसार उपचारका लागि कडा खालका मानसिक रोगी पनि आउने गरेका छन्। ‘लामो समयदेखि औषधि सेवन गरिरहेका पनि उपचारका लागि आउने गरेका छन’, उनले भने।

‘तर इलेक्ट्रिक करेन्ट भन्नेबित्तिकै सुरुमा धेरै डराउनुहुन्छ, तर लगाउन थालेपछि आनन्द मान्नु हुन्छ। दोस्रो पटक लगाउन आउँदा आनन्दले मोबाइल चलाएर बस्छन, यो देखेर खुशी लाग्छ’, जिसी भन्छन्।

उपचार खर्च 

पहिले मानसिक रोग निको नभएपछि धेरै भारत लगायतका देशमा जान बाध्य थिए। पैसा पनि धेरै खर्च हुन्थ्यो। तर नेपालमा ७५ हजार रुपैयाँमै नयाँ प्रविधिबाट उपचार गर्न सकिने अस्पतालले जनाएको छ। एक जनालाई न्यूनतम १० देखि २५ पटकसम्म मेसिन लगाउनुपर्ने हुन्छ । सुरुमा १० पटक गरेको ७५ हजार र त्यसअनुसार पटकैपिच्छे पाँच हजार तिर्नुपर्छ। मानसिक रोगको उपचार हुने सरकारी अस्पताल पाटनमा भने यो प्रविधिको प्रयोग भएको छैन। कडा खालको मानसिक समस्याको लागि प्रभावकारी हुने भए पनि बजेट र ठाउँ अभावको कारण ल्याउन नसकेको मानसिक अस्पतालका विभागीय प्रमुख डाक्टर रवि शाक्यले बताए।  उज्यालो अनाईनबाट साभार।

कमेन्ट लोड गर्नुस