वैज्ञानिकहरुले मोटोपन घटाउने, डाइबिटिज हुन नदिने औषधी बनाए
वैज्ञानिकहरुले यस्तो ट्याब्लेट बनाएका छन् जसले अब मोटोपनलाई बाईबाई गराउनेछ । साथै, त्यो ट्याब्लेटको प्रयोगले मोटोपनको कारण हुने टाइप २ डाइबिटिज पनि लाग्ने छैन। यो ट्याब्लेटले हाम्रो सानो आन्द्रामा एउटा यस्तो पत्र निर्माण गरिदिनेछ, जसले गर्दा सानो आन्द्राले गुलियो सोस्न सक्दैन । आन्द्रामा त्यस्तो तह निर्माण गरिदिने सो पदार्थलाई वैज्ञानिकहरुले लुसीआई (LuCI)नाम दिएका छन्।
हामीले खाएका खानेकुराहरुमा धेर थोर मात्रामा गुलियो हुने गर्छ। खासगरी कार्बोहाइड्रेड त्यो गुलियोका मुख्य स्रोत हो। हामीले खाएको खानेकुराबाट पोषकतत्वहरु मूलतः सानो आन्द्राबाट सोसिएर रगतमा जाने गर्छ। हामीले उक्त लुसीआई औषधी खायौं भने सानो आन्द्राबाट अन्य पोषकतत्वहरु त सोसिएर रगतमा जान्छ तर त्यसले गुलियोलाई चाहिँ सोसिन दिँदैन। वैज्ञानिकहरुले के आशा गरेका छन् भने यो औषधिको मद्दतले मोटोपन र टाइप टु डाइबिटिजलाई रोक्न र उल्ट्याउन सकिन्छ।
जनावरहरुमा उक्त औषधीको प्रयोग गर्दा त्यसको सकारात्मक परिणाम प्राप्त भएको थियो। उक्त औषधीले सानोआन्द्रामा एउटा तह निर्माण गरेर गुलियो पदार्थ सोसिन नदिएको पाइएको थियो। सो औषधीको प्रयोग गर्दा खानेकुरा खाइसकेपछि पनि शरीरमा ग्लुकोजको मात्रा नबढेको पाइएको थियो । सामान्य अवस्थामा हामीले खानेकुरा खाइसकेपछि रगतमा ग्लुकोजको मात्रा बढेर जान्छ र त्यो केही समयसम्म बढेकै अवस्थामा रहिरहन्छ।
मुसामा उक्त औषधीको प्रयोग गर्दा १ घण्टापछि मुसाको रगतमा ग्लुकोजको मात्रा ४७ प्रतिशतसम्म घटेको पाइएको थियो। र, त्यो औषधीले सानो आन्द्रामा ग्लुकोज सोस्न नदिने गरी निर्माण गरिदिएको पत्र चाहिँ ३ घण्टापछि आफैं घुलिएर नष्ट भएको थियो। यो औषधी धुलो पाउडरको रुपमा क्याप्सुलमा हालिएको अवस्थामा पनि खान सकिन्छ। यो औषधीले मोटोपन हटाउनको लागि गरिने शल्यक्रियाको जस्तै काम गर्न सक्छ । भविष्यमा मानिसमा यो औषधि सफल र प्रभावकारी भयो भने तौल घटाउनको लागि गरिने लामो, झन्झटिलो र खर्चिलो प्रक्रियालाई नै विस्थापित गरिदिनेछ।
मोटोपन घटाउनको लागि अहिले प्रचलनमा रहेको उपचारमा ग्यास्ट्रिक बाइपास सर्जरी हो। यसमा आमाशयमा एउटा ग्यास्ट्रिक थैलो बनाइन्छ जसले खानेकुराहरुको एउटा ठूलो हिस्सा आमाशयमा राम्ररी पच्न पाउँदैन र सानो आन्द्राले त्यसलाई राम्ररी सोस्न सक्दैन। यो शल्यक्रिया गरेका मानिसहरुको आमाशयमा राखिएको ग्याँस्ट्रिक व्याण्डले मानिसहरुलाई थोरै मात्रै खाँदा पनि अघाएको अनुभूत गराउँछ। हुनत यो प्रक्रियालाई उल्टाउन सकिन्छ र तर त्यसका लागि पनि पुनः अपरेशन नै गर्नुपर्ने हुन्छ।
मोटोपनाले मानिसमा डाइबिटिज लाग्ने सम्भावना ८० देखि ८५ प्रतिशत बढाइदिन्छ। डाइबिटिजमा रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा अति बढी हुन्छ । विशेष गरेर मोटोपनको कारण हुने टाइप २ डाइबिटिजमा शरीरमा इन्सुलिनले राम्ररी काम गदैन। इन्सुलिन त्यस्तो हर्मोन हो जसको मद्दतले हाम्रो शरीरका कोषहरुले रगतको मार्फत् आपूर्ति हुने ग्लुकोजलाई शक्तिमा रुपान्तरण गर्ने गर्छ। यसरी इन्सुलिनले काम नगर्ने वा शरीरमा इन्सुलिनको उत्पादन नै अति थोरै हुने यो स्थितिलाई बेलैमा उपचार गरिएन भने रगतमा बढी मात्रामा थुप्रिने ग्लुकोजले थुप्रै जटील खालका स्वास्थ्य समस्याहरु पैदा गरिदिन्छ । विशेष गरेर त्यसले हाम्रो आफ्नै शरीरको अंगहरु विशेष गरेर आँखा, मुटु र मृगौलाहरुलाई नोक्सान गर्न सक्छ।