किन खुइलिन्छ पुरुषको मात्र तालु ?
कपाल बढ्ने एन्लाजेन, क्याटजेन, टेलोजेन नामक तीन अवस्था हुन्छन्। प्रत्येक रौं यी तीन अवस्थाबाट गुज्रिन्। तर, गतिचाहिँ फरक–फरक हुन्छ। भन्नुको मतलब यदि कुनै एउटा रौँ एन्लाजेन अवस्थामा छ भने अर्को रौँ क्याटजेन अथवा टेलोजेन अवस्थामा पनि हुन सक्छ।
यी तीन अवस्था पूरा भएपछि कुनै पनि रौँका कोषहरू मर्छन्। र, त्यो ठाउँमा नयाँ कोषहरू जन्मिन्छन्। कुनै कारणवश अवरोध भएन भने यो चक्र चलिरहन्छ। तर, बुढौली लागेपछि भने यो चक्र धेरै नै सुस्त हुन्छ।
एन्लाजेन अवस्था करिब दुईदेखि ६ वर्षसम्मको हुन्छ। यो अवस्थामा रौँ बन्ने कोषहरू एकदम विकसित हुन्छन्। हुन त यो वंशाणुगत कुरामा पनि भर पर्छ, तथापि यो अवस्था लामो हुनेहरूको कपाल एकदम बढ्छ र लामो हुन्छ भने छोटो हुनेको त्यति नबढ्ने भएकाले छोटो हुन्छ। एन्लाजेन पछिको क्याटजेन अवस्था करिब दुई हप्ताको हुन्छ र यस अवस्थामा पुराना कोषहरू मार्दै गरेका हुन्छन्, बाहिर धकेलिने प्रक्रिया बिस्तारै सुरु हुँदै गइरहेको हुन्छ र रौँ त्यति बढ्दैन। त्यसपछिको टेलोजेन अवस्थामा रौँ जराबाट छुटिन्छ र झर्छ।
क्षणिक रुपमा कपाल झर्ने धेरैजसो कारण महिला तथा पुरुष दुवैमा उस्तै हुन्छन्। तर, दीर्घकालीन कारणहरू प्रायः फरक किसिमका हुन्छन्।
मानसिक तनाव, ठूलो आघात, ठूलो अप्रेसन, कुनै रोग, क्यान्सर उपचारको मुख्यतः किमोथेरापी, औषधिको प्रभाव आदि साझा कारण हुन्। यस्ता अवस्थाले रौँ बढ्ने चक्रमा आघात पुर्याउँछन्, र रौँ चक्र पूरा नहुँदै छुटिन्छ, मर्छ र झर्छ।
अहिले बजारमा उपलब्ध अक्साइड तथा ब्लिचजस्ता छालालाई अत्यधिक हानि गर्ने कपाल रंगाउने रंगीविरंगी वस्तु प्रयोग गर्नेहरूको पनि भविष्यमा रौँ झर्छ झर्छ। मेहन्दी र मेहन्दीजस्तै प्राकृतिक वस्तुहरूले रौँ झर्न रोक्दैनन् र रौँ उमार्दैनन् पनि।
तर, छाला बाहिरको रौँलाई चम्किलो र चिल्लो भने बनाउँछन्। खस्रोभन्दा चिल्लो वस्तु कम टुक्रिने भएकाले रौँ पनि टुक्रिन कम हुने सम्भावना भएको कुरा हालैको परीक्षणले देखाएको छ । जाडो याममा मेहन्दी टाउकोमा धेरैबेर राख्दा त्यसको असरले चिसो लाग्ने धेरै सम्भावना हुन्छ।
शरीरमा भिटामिन ‘ए’ धेरै भए पनि र फलाम, भिटामिन ‘बी’ तथा आवश्यक प्रोटिनको अभाव भए पनि रौँ झर्छ। बच्चा जन्माउँदाको सकसले गर्दा सुत्केरी अवस्थामा महिलाको कपाल बढी झर्छ । तर, यस्ता कारणमा सुधार आएपछि रौँ पुनः पलाउन थाल्छ। बुढौलीमा महिला तथा पुरुष दुवैको कपाल झरेर पातलो हुनु स्वाभाविक प्रक्रिया हो।
हाम्रो टाउकाको छालामा पाँच सतह हुन्छन्। माथिल्लो सतह जसलाई स्काल्प भनिन्छ, त्यसमा अन्य भागको छालामा भन्दा एकदम धेरै हेयर फोलिकल र सबेइसस नामक ग्रन्थी हुन्छन्। त्यही कारणले गर्दा नै कपालको रौँ अन्य भागको भन्दा एकदम बाक्लो गरी उम्रिन्छ।
हुन त वातावरणीय प्रभावले पनि कपाल झर्छ, तर पुरुषको उमेर घर्किंदै जाँदा, अझ कसैकसैको त लक्का जवानीमै, दुवै कञ्चटबाट कपाल खुइलिँदै माथि गएर अंग्रेजी अक्षरको ‘एम’ जस्तै बन्दै जानु, तथा तालु चिप्लिएर ‘यु’ जस्तै बन्दै जानु, वा घोडाको टापजस्तै बन्दै जानुको मुख्य दुई कारण हुन्छन्। एक, वंशानुगत कारण। र, पुरुषत्व अथवा पुरुषमा हुने टेस्टोस्टरोन हर्मोनको शक्तिशाली तर विकृत रुप डिहाइड्रो–टेस्टोस्टरोन, डिएचटीको प्रभावका कारण।
डिहाइड्रो–टेस्टोस्टरोन भनेको पुरुष इन्द्रियलाई सक्रिय बनाउन, शुक्रकीट उत्पादन गर्न, तथा दारीजुंगा निकाल्न सकारात्मक र सक्रिय भूमिका खेल्ने हर्मोन हो। तर, दुर्भाग्यको कुरा यो हर्मोन नै पुरुषको कपालको रौँ झार्ने कारकतत्व बन्दो रहेछ।
यसले टाउकाको स्काल्प भनिने छालामा हुने फोलिकल्सलाई खुम्च्याइदिन्छ, र बिस्तारै कपालका कोष बन्नै छाड्दछन्। हाम्रो शरीर विभिन्न हर्मोनको संयोगले चल्छ। तर, कतिपय यस्ता अवस्था हुन्छन्, जहाँ एउटा हर्मोनले अर्कोलाई नकारात्मक असर पनि पुर्याउँछ।
१८–३० को उमेरमा महिलाको शरीरमा पनि करिब केही मात्रामा टेस्टोस्टरोन हर्मोन हुन्छ। तर, त्यसपछि बिस्तारै घटेर एकदम कम हुँदै जान्छ। त्यसैले पुरुषको जस्तोगरी कपाल खुइँलिदैन।
खुइलो टाउको हुने सात पुरुषमध्ये चारजना वंशानुगत कारणले तालुखुइले हुन्छन्। अनि, ६० वर्ष पुग्दानपुग्दै ७० प्रतिशत पुरुष तालुखुइले बन्छन्।
टाउकाको खुइलिएको ठाउँमा आफ्नै नखुइलिएको ठाउँको स्काल्पसहितको छाला ल्याएर अप्रेसन गरी टाँसेर केही समयका लागि रौँ पलाउने बनाउन त सकिन्छ। तर, त्यो प्रक्रिया एकदम पीडादायी र धेरै खर्चिलो हुन्छ।
कति पीडादायी हुन्छ भन्ने बुझ्न चाहनेले बेलायतका फुटबल स्टार रुनीको जीवन कथा पढ्नुपर्छ। यसरी रोपे पनि कपाल दिगो रहन्न केही समयपछि बिस्तारै झरेरै छाड्छ।
तर, यदि उमेरमै टाउको खुइलिनुका वंशानुगत तथा पुरुषत्व बाहेकका कारण छन भने, मिनअक्साइडल तथा रि–अप जस्ता दल्ने झोल औषधिले नयाँ रौँ नउमारे पनि लगाउन्जेल झर्ने क्रममा व्यक्तिअनुसार सुधार आउन सक्छ ।
अल्पकालीन कारण बाहेकको अवस्थामा एकपटक टाउको खुइलिएपछि, जे खाए पनि, जे घोँचे पनि, जे दले पनि कहिल्यै र कदापि तालु भरिँदैन। मरेको प्राणी बिउँझिन्छ र ?
कथंकदाचित भविष्यमा खुइलिएको टाउकोमा झ्यापझ्याप्ती रौँ आउने औषधि पत्ता लाग्यो भने वा प्रविधि बन्यो भने, त्यसको व्यापारले माइक्रोसफ्टले भन्दा पनि ठूलो बजार पिट्ने छ।
तालु छोप्नका लागि केही लाखसम्म राजीखुसी तथा हाँसीखुसी लगानी गर्न त यो पंक्तिकार नै तम्तयार भएर खुट्टा उचालेर बसेको छ।