सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२, नेपाल सहित १६ देशमा संक्रमण

२०७६ माघ १४, ०८:२२ खबर संवाददाता

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ। झण्डै तीन हजार मानिसमा संक्रमण देखिएको छ। 

कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ। बीबीसीका अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ। चीनका अन्य भागका ६ जनाको ज्यान गएको अधिकारीहरुले पुष्टि गरेका छन्। राजधानी बेइजिङमा कोरोनाका कारण पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ। ५० वर्षीय एक व्यक्तिको राजधानी बेइजिङमा कोरोना संक्रमणका कारण ज्यान गएको अधिकारीहरुले बताएको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा थपेर आइतबारसम्मका लागि दिइएको छ। वुहानलगायतका सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ। अन्य राज्य र सहरहरूमा पनि सावधानी अपनाइएको छ। प्रकोप न्यूनीकरणका निम्ति प्रयास जारी रहे पनि संक्रमतिसँगै मृतकको संख्या बढ्दै गएपछि चिन्ता व्यक्त हुन थालेको छ।
चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ।

बीबीसीका अनुसार जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन्। थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन्। नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको पाइएको छ। यही भाइरसका कारण चीनभन्दा बाहिर भने अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन्।

कमेन्ट लोड गर्नुस