१३ लाई अशुभ अंक मानिन्छ, किन ?
संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ। त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन।
शुक्रवार १३ तारिख प–यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन्। यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ।
मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ। तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन्।
तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ। यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो।
इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन्। अब छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू।
अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ। यसअघि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन्। यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ। तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो। कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ।
क्रिस्चियनहरू चाहिँ बोक्सीहरूको १३ जनाको समूह हुने मान्यता राख्छन्। अनि बाइबलमा जीसस क्राइस्टलाई धोका दिने जुडास अन्तिम भोजमा भाग लिने तेह्रौं व्यक्ति थिए भनी उल्लेख छ।
प्राचीन क्रिस्चियन ग्रन्थहरूका अनुसार येशुलाई शुक्रवारको दिन क्रसमा झुण्ड्याइएको थियो अनि इभले एडमलाई शुक्रवारकै दिन वर्जित फल खुवाएकी थिइन्। केनले एबललाई शुक्रवार हत्या गरेका थिए। यसैकारण शुक्रवार राम्रो दिन मानिन्न अनि त्यसमा १३ अंक थपिँदा त फ्राइडे द थर्टिन्थ खराबै हुने भयो क्रिस्चियनहरूका लागि।
नर्डिक मिथहरूले पनि १३ अंक अशुभ हुनुका पछाडिका कथा हाल्छन्। -एजेन्सी