खेतमा सन्नी लियोनको पोस्टर राख्दा किसान मालामाल
एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै पोर्नस्टारको पोस्टर राखेका छन्। अझ उनलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ।
चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा पोर्नस्टार सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका छन्। भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्टर राखेका छन्। गाउँलेका राक्षसी आँखा पन्छाउन पूर्व पोर्नस्टार सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँछन्।
पोस्टरमा लेखिएको छ : ‘महासय मलाई देखेर नचिढिउँ।’ अझ पोस्टरका रूपमा रातो बिकिनीमा सजिएकी सन्नीको तस्बिर छ । हिन्दूस्तान टाइम्ससँग बोल्दै सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन्। सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उनी सुनाउँछन्। भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो। यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं। पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ।’
रेड्डी थप्छन्, ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ। आजभोलि यसले कमाल गरेको छ। सबैजना सन्नीलाई मात्र हेर्छन्। मेरो बालीमा आँखा लगाउँदैनन्।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ।
कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन्। रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई ?’ -नागरिक/शुक्रवार