सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाभाइरसको डरः चिनको वुहानमा कोठाभित्रै थुनिए नेपाली (भिडियो)

२०७६ माघ १९, ०३:५० खबर संवाददाता

चीनको हुवेई प्रान्तको राजधानी हो-वुहान सहर। एक महिनाअघि सम्म त्यो सहर ग्लोबल सिटी थियो। अध्ययन, व्यवसाय र कामका शिलशिलामा विभिन्न देशका मानिसहरू वुहान पुगेका थिए।

गत जनवरी २२ यता भने वुहानको रौनक सकिएको छ। फराकिला चौडा सडक छन् तर गाडी गुड्दैनन्, विमानस्थलमा जहाज आउँदैनन्, रेलवे स्टेशनबाट ट्रेन चल्दैनन्।

डिसेम्बरदेखि फैलिएको नोवेल कोरोनाभाइरसले वुहानको जनजीवनमात्र प्रभावित पारेको छैन् विश्वलाई आपतकालमा पुर्‍याइदिएको छ। संसारका विभिन्न देशले वुहानमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड जहाज पठाएर फिर्ता ल्याएको छ।

नेपाल सरकारले पनि वुहानमा रहेका नेपाली उद्धार गर्ने भनेको छ तर यहाँ ल्याएर कुन ठाउँमा राख्ने भन्ने टुंगो नलागेकाले जहाज पठाउन सकेको छैन। वुहानका नेपाली भने दुई सातादेखि आफ्नो कोठाभित्र थुनिएर बसेका छन्। विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले  किचनमा पनि जाँदैनन्।

‘हामी अहिले एउटा कोठाभित्र खाना पकाउँछौं, त्यहीँ सुत्छौं, त्यहीँ पढ्छौं, बाथरूम पनि भित्रै छ,’ पिचएडीको थेसिस लेखिरहेका अशोक साहले भने,‘मेरो फ्लोरमा २० कोठा छन्। अहिले म एक्लै यहाँ बसिरहेको छु।’  

केशवजसरी नै कोठामा थुनिएका छन् पिएचडीका अर्का विद्यार्थी चन्द्रभूषण साह। उनको कोठाको झ्यालबाट बाहिर सडक देखिन्छ। उनी झ्याल खोल्दैनन्, सिसाबाट बाहिरको दृश्य हेर्छन्। ‘बाहिर हेर्दा अरू देशका साथीहरू घर फर्किएका देखिन्छन्। हामी कहिले जाने होलाजस्तो लाग्छ,’ चन्द्रभूषणले भने,‘दूतावासले भनेको फारम त भरेका छौं तर जहाज कहिले आउने केही भन्नुभएको छैन। अझै कति दिन यसरी बस्नुपर्ने हो भनेर तनाव हुन्छ।’

वुहानमै रहेकी अर्की नेपाली विद्यार्थी प्रमिला देवकोटा विद्यार्थीहरुमाथि मानसिक दबाब बढिरहेको बताउँछिन्। 'विच्याटमा नेपाली विद्यार्थीहरु पशुपतिनाथले रक्षा गरुन् भनेर लेखिरहेका छन्', देवकोटा भन्छिन्, 'हामी बाहिर निस्कन लिफ्टको बटन थिच्दा पनि त्यसबाट कोरोना भाइरस सर्छ भनेर तर्सिनुपर्ने अवस्था छ।'

अन्य मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता बोलाइरहँदा थुनिएर बसेका नेपालीहरु नेपाल फर्कने चाहाना व्यक्त गर्न थालेका छन्। -सेतोपाटीबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

 

कमेन्ट लोड गर्नुस