सुदूर नेपाललाई विश्वसँग जोड्दै

कामको खोजीमा चीनको चाँगा गएका १४ नेपाली उतै थुनिए

२०७६ माघ २१, ०३:१७

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ। चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो। नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। 

सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए। उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए।

 उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ। “चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ”, उनले भने। कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ। 

खाद्यान्न सङ्कट हुने अवस्था 
चीनले यही माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न सङ्कट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए। उनले भने “हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ।” सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। 

किमाथाङ्का गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथाङ्काका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो। भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए। -रासस
 

कमेन्ट लोड गर्नुस