श्रीमती अकैसँग भागेपछि पुत्ला बनाएर पतिले गराए दाहसंस्कार
भारतको झारखण्डस्थित बोकारो जिल्लाको बन्दियोमा बस्ने राजीव कुमारले आफ्नी पत्नीको पुत्ला बनाएर दाहसंस्कार गरेका छन्।
उनकी पत्नी परपुरुषसँग भागेपछि उनले यसो गरेका हुन्। पत्नी अहिले प्रेमीका साथ राँचीमा बसिरहेकी छन्।
पत्नीको कामलाई विरोध गर्न राजीवले हिन्दू रीतिरिवाज अनुसार पत्नीको पुत्ला बनाएर अन्तिम संस्कार गरे। लामो समयसम्म बेपत्ता भएको वा हाडखोर समेत नभेटिने गरी दुर्घटनामा मरेको मानिसको कुशको पुत्ला बनाएर अन्तिम संस्कार गरिने प्रचलन छ। तर पत्नी अर्कोसँग भागेपछि आहत बनेका पतिले यस्तो उग्र कदम चालेका हुन्।
उनले आफ्नो नाबालक पुत्रलाई आमाको प्रतीकात्मक पुत्लामा मुखाग्नि दिन लगाए । आफ्ना लागि पत्नीको मृत्यु भइसकेको राजीवको भनाइ छ। उससँग आफ्नो र आफ्नो परिवारको कुनै सम्बन्ध नरहेको उनले बताए।
पत्नी दुई बालबालिकाकी आमा हुन्। उनी आफ्नै गाउँमा बस्ने प्रेमीका साथ एक महिनाअघि भागेकी थिइन्। –ऐजेन्सी