बाजुरामा भाईरल ज्वरोका कारण कसैको मृत्यु भएको छैन् : प्रशासन
जिल्ला प्रशासन कार्यालय बाजुराले भाईरल ज्वरो तथा रुघाखोकी कारण हाल सम्म कसैको मृत्यु नभएको जनाएको छ। गृह मन्त्रालयको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई जानकारी दिदै जिल्लामा रुघाखोकी तथा भाइरल ज्वरोका कारण कसैको पनि मृत्यु नभएको जनाएको हो।
भाईरल ज्वरोले मृत्यु भएका भनिएका स्वामिकात्तिक खापर गाउँपालिका १ का ५५ वर्षका मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको दीर्घरोग दमको कारणले मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।
उनका अनुसार हाल सम्म जिल्लामा फैलिएको भाईरल ज्वरो र रुघाखोकीबाट प्रभावित चार सय ४७ जनाको उपचार गरिएको छ। यता प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि भाईरल ज्वरो नियन्त्रणमा आईसकेको जनाएको छ।