सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा पनि हात्तीपाइले निवारण कार्यक्रम शुभारम्भ

२०७६ माघ २५, ११:०२ खबर संवाददाता

धनगढी- सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा शनिबारदेखि हात्तीपाईले रोगविरुद्धको औषधी सेवन कार्यक्रम शुरु भएको छ।कार्यक्रमको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पतालमा औषधी सेवन गरि उद्घाटन गरेका थिए।

सो अवसरमा बोल्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीले औषधीबारे गलत प्रचार भइरहेको बताएका छन्। यो औषधीले कसैलाई असर गर्दैन। तर, बुद्धिजिवी वर्गहरुले औषधीबारे गलत प्रचार गरेको जस्तो लाग्छ।’ उनले भने। उनले सबैले औषधी सेवन गरे हात्तीपाईले, हाइड्रोसिल जस्ता विभिन्न रोगबाट बच्न सकिने बताएका छन्। 
स्थानीय तहका प्रमुखहरुले आ–आफनै क्षेत्रमा औषधी सेवन गरि शुभारम्भ गरिएको छ।

धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले संयूक्त रुपमा हात्तीपाईलेको औषधी सेवन गरेका थिए। नगर प्रमुख वडले हप्ताभरी हात्तीपाईले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन हुने बताए। उनले उपमहानगरपालिकाका हरेक नागरिकलाई औषधी सेवन गर्न आग्रह मसेत गरे।।

सन् २०१३ मा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको थियो। प्रदेशका पहाडी सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सफल भए पनि आठौं चरणमा पुग्दा समेत कैलालीमा भने अपेक्षाकुत रूपमा सफल हुननसकेको तथ्यांकले देखाएको छ। 
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा हात्तीपाइले रोग विरूद्धको औषधि यहि वर्षमात्र खुवाइने छ। भने कैलालीमा भने अर्को वर्ष पनि खुवाउनुपर्ने देखिएको छ।

कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७५/७६ मा ६९ प्रतिशत मात्र रहेको थियो। हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने प्रतिशत कमजोर भएका कारण कैलालीमा नौ चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने भएको छ। कैलाली स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कैलालीमा गत वर्ष आठ लाख २९ हजार १३ जनसंख्या मध्ये छ लाख ३५ हजार तीन सय सात जनाले हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए।

 कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष जिल्लाको कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ।  त्यस्तै, पाँच लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गरेका थिए। 

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोग विरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशका १३ वटा जिल्लामा यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरिने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस