यूएईबाट १० हजार रुपैयाँ पठाउँदा १२ लाख उपहार !
यूएईबाट नेपाल पैसा पठाउँदा रोल्पाका झकबहादुर जिसीले १२ लाख रुपैयाँ उपहार पाएका छन्। यूएईको अलअहलिया एक्सचेञ्जमार्फत १० हजार रुपैयाँ पैसा पठाएका झकबहादुरले एक्सचेञ्जको लक्की ड्र अन्तर्गत १२ लाख रुपैयाँ उपहार पाएका हुन्। बिहीबार आबुधाबीमा खोलिएको लक्की ड्र अन्तर्गत उनले उपहार स्वरुप पाएको कारको सट्टा त्यो कारको अहिले यूएईमा पर्ने मुल्य बराबरको नगद रकम अर्थात १२ लाख रुपैयाँ नेपाली पाएका हुन्।
यूएईमा अहिले निसानको सनी कारको मूल्य झण्डै ४५ हजार दिर्हाम पर्छ। त्यसबाट लाग्ने कर बापतको रकम कटौती गर्दा झण्डैै ४० हजार दिर्हाम अर्थात झण्डै १२ लाख रुपैयाँ हुन आउने अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताए। अलअहलिया एक्सचेञ्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि सन् २०१९ को डिसेम्बर १५ देखि फ्रेबुअरी १२ सम्म एक्सचेञ्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको हो।
योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा बिहीबार गोलाप्रथा गरिएको हो। त्यसमध्ये बाँकी २ कार एक पाकिस्तानी र एक भारतीय नागरिकलाई परेको एक्सचेञ्जले जनाएको छ। उपहार अलअहलिया कर्पोरेटले एक कार्यक्रमको आयोजना गरेर संयुक्त रुपमा वितरण गर्ने एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले बताए।
१२ लाखले १२ अर्ब भन्दा ठूलो खुशी ल्यायो : झकबहादुर
बिहीबार लक्की ड्र हुँदै गर्दा झकबहादुर कम्पनीको नियमित काम गर्दै थिए। उनी १६ वर्षदेखि आबुधाबीको इमिरेट्स लिक निटको कम्पनीमा इलेक्ट्रिसियनको काम गर्छन्। आर्मी क्याम्पमा काम गर्दा मोबाइल लैजान नपाईने भएकाले मोबाइल बन्द गरेर उनी काम गरिरहेका थिए। लक्की ड्रमा झकबहादुरको नाम निस्किएपछि एक्सचेन्जले उनलाई धेरै पटक सम्पर्क गर्ने प्रयास गरेको थियो। तर फोन लागेन।
क्याम्पमै प्रतिनिधि पठाएर झकबहादुरलाई सम्पर्क गरिएको हो। कम्पनीमै आएर एक्सचेञ्जका प्रतिनिधिले १२ लाख रुपैयाँ जितेको खबर सुनाउँदा पैसामा किन्न नसकिने खुशी मिल्यो उनी भन्छन्। ‘मैले १२ अर्बको खुशी पाएँ, म शब्दमा वर्णन गर्न सक्दिनँ,’ झकबहादुरले भने। घर बिदामा गएर दुई महिनाअघि यूएई फर्किनुभएका झकबहादुरले यो योजना अन्तर्गत ४ पटक घरमा पैसा पठाए।
उनले पछिल्लोपटक १० हजार रुपैयाँ पठाएका थिए। एक्सचेञ्जले अब ३ वटा कार सारजाहको अलसज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा फ्रेबुअरी १६ मा सार्वजनिक गर्नेछ। त्यस्तै मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको विजेता दुबईको अलकुज शाखामा आउँदो फ्रेबुअरी १७ तारिखमा सार्वजनिक गरिने एक्सचेञ्जले जनाएको छ।