किन उठ्ने बिहान सबेरै, यस्ता छन् फाइदा
भनिन्छ बिहान सबेरै उठ्दा आधा रोग त त्यसै पनि निको हुन्छ। अर्थात घाम झुल्किनु अघि उठ्दा हुने सकारात्मक भावले नै मानिसहरुमा आत्मवल समेत बढ्ने बताइन्छ। सुत्ने र उठ्ने तालिका नमिल्दा नै रोगै रोगको भय हुन्छ। यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, कैयौं खालका शारीरिक रोगहरुको चपेटामा समेत परिन्छ।
बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन्। दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ। समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ।
शोधको नेतृत्व गरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले कैयौ स्वास्थ्य लाभ हुन सक्छ। छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ। राती अबेरसम्म नसुत्ने मानिसमा धुम्रपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ। निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ।
यी हुन् बिहान सबेरै उठ्नुका फाइदा
१) बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ।
२) बिहान चाडैं उठेर कसरत गर्दा मुटुरोगको सम्भावना धेरै कम हुन्छ। शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ। ब्लडप्रेसरको समस्या निम्तिदैन्।
३) बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन। योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन्।
४) बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ। बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ।