सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिडियो एक्सरे सेवा ठप्प : सेवाग्राही मर्कामा

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १९, ०८:११

सप्तरीको राजविराजस्थित  गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ। भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ। दरबन्दी अनुसार डाक्टर नहुँदा त्यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो  शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गरे। भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर विकासकुमार साहले आफ्नो  जागीरको अवधि म्याद थप नगरेकाले  एक्कासि सेवा बन्द गरेर छोडेपछि त्यहाँको  भिडियो एक्सरे नै पूर्णरुपमा बन्द भएको अस्पतालका एक कर्मचारीले जानकारी  दिएका छन्।

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको गत पुसमा नै करार अवधि म्याद सकिएपछि भिडियो एक्सरे  सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ। उनको म्याद थप नभएपछि सो सेवा विगत दुई महिनादेखि  पूर्णरुपमा बन्द हँुदा सेवाग्राही मर्कामा परेका हुन्। भिडियो एक्सरे सेवा बन्द हँुदा अस्पतालमा जचाउन आउने  बिरामीले महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य भएको सेवाग्राही बिनाइ तिवारीले बताए।

अस्पतालको भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर  साहको म्याद थप  र उनको   ठाउँमा अर्को डाक्टर ल्याउने समयमा पहल नगरेकाले अहिले अस्पतालमा आउने बिरामी उचित सेवा लिनबाट  वञ्चित भइरहेको उनको गुनासो छ। अस्पतालका लेखाशाखाकाअनुसार भिडियो एक्सरे सञ्चालन भइरहँदा अस्पताललाई दोब्बर राजश्व उठ्ने गरेको थियो तर विगत दुई महिनादेखि सो सेवा बन्द भएपछि राजस्व पनि प्रभावित हुने गरेको पाइएको छ।

मङ्सिर महिनामा ११ लाख ५५ हजार १ सय १९ राजश्व सङ्कलन गरेको सो अस्पतालले भिडियो एक्सरे सेवा बन्द भएपछि माघ महिनामा पाँच लाख २७ हजार ६ सय ९७ मात्र राजश्व असुली भएको जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस