सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

२०७६ फाल्गुन १९, ०४:११

चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ।

चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ। हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ। यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेइ प्रान्तका रहेका छन्। 

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ।  चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।  इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ।  त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलाउनु भएको छ। 

चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन्। त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ।–रासस/एएफपी

कमेन्ट लोड गर्नुस