सुदूर नेपाललाई विश्वसँग जोड्दै

संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

२०७६ फाल्गुन १९, ०७:१४ खबर संवाददाता

धनगढी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन्। कैलालीको सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा आज धनगढी पुगेका उनले स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएकाले स्वास्थ्यकर्मीले इमान्दार भएर सेवा दिनुपर्ने बताए।  

सरकारले एक प्रदेश एक अस्पताल एक प्रतिष्ठानको नीति अवलम्बन गरेको बताउँदै सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताललाई सुविधा सम्पन्न अस्पताल र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा विकास गरिने उनले जानकारी गराए। उनले खटाइएका स्थानमा स्वास्थ्यकर्मी काम गर्न नगए पहिलो सचेत, दोस्रो पटक लिखित जानकारी दिइने उल्लेख गर्दै अझै नमाने कामबाट बिदाइ गरिने बताए। 

उनले देशका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसार कर्मचारी अभाव रहेकाले जुन ठाउँमा कार्यरत स्वास्थ्यकर्मी छन् त्यही व्यवस्थापन गरिने र अभाव भएका स्थानमा नीति बनाइ सरकारले स्वास्थ्यकर्मीको माग गर्ने उल्लेख गरे।

सो प्रादेशिक अस्पताल सुदूरपश्चिमकै विश्वसनीय अस्पताल भएकाले स्तरोन्नतीका लागि सङ्घीय सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री ढकालले बताए। 

विश्व स्वास्थ्य संगठनले नेपाललाई कारोनाको उच्च जोखिमको सूचीमा राखेको भन्दै उनले आफ्नै घरको क्वारेन्टाइनमा बस्ने अवधारण ल्याउने बताए। संक्रमणको आशंका गरिएको व्यक्तिको घरमा उपचार गरिने उनले प्रतिवद्धता व्यक्त गरे।  साथै उनले सात वटै प्रदेशका सीमा नाकामा स्वास्थ्य सहायता कक्षको स्थापना गर्ने बताए।-रासस

कमेन्ट लोड गर्नुस