कसरी गरिन्छ कलेजो प्रत्यारोपण ?
त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीकाअनुसार कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन्। केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिका जीवनशैलीले निम्त्याउने गर्दछ। कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्धारा उपचार गर्ने गरिन्छ।
कलेजोको क्यान्सर र सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ। सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो।
नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणहरुः
- अत्यधिक मद्यपान गर्नु
-हेपाटाइटिस बी रोग लाग्नु
-कलेजोमा बोसो जम्नु
कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन। कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन। तीमध्ये हेपाटाइटिस बी को सङ्क्रमण पनि एक हो। त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ।
कलेजो प्रत्यारोपण भनेको के हो ?
सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलजो चाहिएको हो उसको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ र त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ। कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वाास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ।
प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय
लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ। दिने व्यक्तिको शल्यक्रया पनि लगभग जटिल नै हुन्छ। त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आइसियुमा राख्नुपर्ने डा. भण्डारी बताउँछन्। उनका अनुसार कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि छ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ। कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ। दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ।
कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आइसियुमा राखिन्छ। आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ। डाक्टरका अनुसार डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ।
प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु :-
-सबैभन्दा बढी सङ्क्रमण हुनबाट बच्ने।
- अस्पताल गएर नियमित जाँच गराउने।
- मद्यपान र धुम्रपानबाट टाढा बस्ने।
- चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने।
- सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने।
- बाहिर निस्किँदा मास्क प्रयोग गर्ने।
- भिडभाडमा नजाने।
- घरमै पनि सावधानीपूर्वक बस्ने।
- रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने।
- खानपिनमा धेरै ख्याल गर्ने।
- औषधीको जथाभावी प्रयोग नगर्ने।
- शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने। (उज्यालो अनलाइनबाट)