कोरोनाबाट बच्न नमस्ते गरौँ :देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाईरसको संक्रमणबाट बच्न सबैलाई सचेत रहन आग्रह गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विश्व व्यापी रुपमा भयाबह बन्दै गईरहेको कोरोना नेपालमा पनि फैलिन सक्ने भन्दै सचेत रहनुपर्ने बताएका हुन्।
‘विश्वभर देखा परेको कोरोना भाइरस भन्ने खतरनाक रोग नेपालमा पनि आउने सम्भावना छ।’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो रोग नेपालमा पनि आयो भने डरलाग्दो किसिमले बढ्न सक्छ। सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई सचेत रहन आग्रह गर्दछु।’
उनले सकभर हात नमिलाई नमस्ते गर्न आग्रह समेत गरेका छन्। सन २०१९ डिसेम्बर ३१ अर्थात गत पुस १५ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ कोरोना भाइरस अहिलेसम्म विश्वका ५० भन्दाबढि देशहरुमा फैलिसकेको छ।
महामारीका रुपमा देखा परेको कोरोनाबाट हालसम्म ३१ सय भन्दाबढि संक्रमितले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई उक्त भाइरसको उच्च जोखिममा राखेको छ। तरपनि कोरोनाको संक्रमण फैलन नदिन नेपालमा आवश्यक तयारी हुन सकेको छैन्।