कैलालीको गौरीफन्टा नाकाको हेल्थ डेस्क एक जना स्वास्थ्यकर्मीको भरमा
शनिबार दिउँसो कैलालीको गौरीफन्टा नाका पुग्दा भारतबाट फर्किनेहरुको लर्को नै थियो। नाकामै स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका धनगढी उपमहानगरपालिका एकजना स्वास्थ्यकर्मीले नेपाल भित्रिरहेकाहरुको स्वास्थ्य परिक्षण गरिरेको देखियो। तर एकजनालाई परिक्षण गर्ने क्रममा १० जना सरासर धनगढीतर्फ आईरहेका थिए।
शुक्रबार मात्र धनगढी उपमहानगरपालिकाले हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएकोमा शनिबार बिहान ६ बजेदेखि साझ सम्म सीमामा स्वास्थ्य परिक्षणका लागि एकजना स्वास्थ्यकर्मीलाई मात्र खटाईएको थियो। जसका कारण गौरीफन्टा नाकाबाट भित्रिने सबैको स्वास्थ्य परिक्षण गर्न नसकेको स्वयंम ती स्वास्थ्यकर्मीले समेत बताए।
सीमामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बिहान ६ बजेदेखि साझ ८ बजे सम्म आफूले मात्रै परिक्षण गरिरहेको जनाए। उनले आफू एक्लै हुँदा नाकाबाट भित्रिने सबैको परिक्षण गर्न नसकिएको कुरा स्वीकार गरे। सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पर्याप्त जनशक्ति व्यवस्थापन नगरिएपछि चेकजाँचमा समस्या भएको हो।
छिमेकी भारतमै कोरोनाको संक्रमणबाट ३० जना प्रभावित भएका बेला हजारौँको संख्यामा भारतमा काम गर्दै आएकाहरु फर्किने सीमा नाकामा सर्तकता नअपनाईएको हो। गौरीफन्टा नाका भएर पनि दैनिक हजारौँको व्यक्तिहरु आउने जाने गरिरहेपनि कोरोना रोकथामका लागि स्थापना गरिएको हेल्थ डेस्क प्रभावकारी नभएको हो।
अहिले सीमा क्षेत्रमा रहेका स्थानीय र केही सुरक्षाकर्मीको सहयोग लिएर स्वास्थ्यकर्मीले परिक्षण गरिरहेका छन्। सीमामा एकजना स्वास्थ्यकर्मी पर्याप्त नभएकाले थप्नुपर्ने सुझाव दिईएको छ। सीमामा भेटिएका धनगढीका स्थानीय कमल विकले दैनिक हजारौँ मानिस आउजाउ गर्ने गौरीफन्टामा एकजना स्वास्थ्यकर्मी मात्रै पर्याप्त नभएकाले स्वास्थ्यकर्मी थप्नुपर्ने बताए।
यता, सीमामा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको धनगढी उपमहानरपालिकाले भने आवश्यकता परे मात्रै थप स्वास्थ्यकर्मी खटाउने प्रतिक्रिया दिईरहेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले अहिले एकजनालाई परिचालन गरिएपनि आवश्यक परे थप जनशक्ति खटाईने बताए।
सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा जनशक्ति व्यवस्थापन मात्र नभएर समन्वयात्मक सहकार्यको समेत अभाव देखिएको छ। भारतबाट फर्किरहेका एकजनालाई परिक्षण गर्ने क्रममा अन्यलाई रोकेर भएपनि परिक्षण गर्न सकिने अवस्था भएपनि सीमामा खटिएका सुरक्षाकर्मीले त्यसलाई नजर अन्दाज गरिरहेको आरोप लागेको छ।
तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा भने हेल्थ डेस्कका सन्र्दभमा देखिएका कमीकमजोरी सुधार गरी सीमामा उच्च सतर्ककता अपनाईने बताए। उनले स्वास्थ्यकर्मीलाई सहयोग गर्न सुरक्षाकर्मीलाई पनि खटाईने जनाए। रोजगारीका लागि भारत पसेका नेपालीहरु त्रिनगर नाका भएर होली र नजिकै आईरहेको नयाँ बर्षका लागि घर फर्किने क्रम सुरु भएको छ।
त्यसैले सीमामा अझै सतर्कता अपनाउन आवश्यक छ। तर छिमेकी चीनबाट सुरु भएर विश्वका ७६ देशमा फैलिएको कोभिट १९ नाम दिईएको कोराना भाईरसको संक्रमण हुन नदिन सीमा नाकामा सर्तकताको अभाव देखिएको हो।