सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना

२०७६ फाल्गुन २७, ०९:३१

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ। लम्कीचुहा नगरपालिकासँगको समन्वयमा  प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए। सो कक्षमा दुई  स्वास्थ्यकर्मी खटाइएको भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने उनले बताए।

सोही मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौँलानाकामा स्थापना गरिएको स्वास्थ्य सहायताकक्षको अनुगमन गरेको छ।  सो अस्पतालमा  छुट्टै १५  आइसोलेशन वार्ड  स्थापना भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको सङ्क्रमण प्रदेशमा पनि देखिनसक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न  विभिन्न ११ वटा निर्णय गरेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस