कैलालीमा वैज्ञानिक वनबारे बुझाउन नसक्दा पटक–पटक विवाद
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको पथरिया सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्ने÷नगर्ने विषयमा भएको विवादका क्रममा हात हालाहालको अवस्था नै सिर्जना भयो र दुई जना स्थानीय उपभोक्तामाथि कुटपिट भयो। उपभोक्ता ईन्द्र कुवँर र हरी चौधरीमाथि सांघातिक आक्रमण भएको थियो।
सामुदायिक बनका अध्यक्ष भद्र बहादुर विष्टका भजिता नाता पर्ने पुष्प विष्ट र सुरेश विष्ट लगायतका ब्यक्तिले कुवँर र चौधरीमाथि कुटपिट गरेको आरोप लाग्दै आएको छ। कार्यक्रम लागु भईसकेका क्षेत्र र लागु हुन लागेका क्षेत्रमा पनि बेला बेला यस्तै विवाद हुने गरेको छ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम आफैमा नराम्रो नभएपनि कार्यान्वयन गर्ने पक्षले आफ्नो स्वार्थ अनुसार अघि बढाउने परिपाटीले समस्या भएको आरोप कतिपयको छ। सुदूरपश्चिम प्रदेशसभाका सांसद समेत रहेका वन संरक्षणकर्मी महेशदत्त जोशीका अनुसार वैज्ञानिक वन व्यवस्थापनको नाममा हुने बेथिती नियन्त्रणका लागि वन कार्यालय सजक हुन पर्ने बताए। उनले भने, ‘सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बारे आम उपभोक्ता र सरोकारवालाई बुझाउन नसक्दा र कार्यक्रमका लागि आउने बजेटमाथि हुने अनियमितताले समस्या निम्त्याउन सक्छ। सम्बन्धित निकाय सजक हुनुपर्छ।’
कैलालीमा २०६८ सालदेखि लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बेला बेला विवादित बन्दै गईरहेको हो। तर विश्वव्यापी सफल वैज्ञानिक वन व्यवस्थापन बारेका गलत बुझाईका कारण बेला बेला कार्यक्रम विवादित हुने गरेको हो। बैज्ञानिक वन व्यवस्थापन गर्ने भन्दै जथाभावी रुख कटानी तथा जंगल फडानी गर्ने क्रम बढेको गुनासो गरिदै आएको छ। उपभोक्ता महासंघका केन्द्रीय सदस्य समेत रहेका कैलालीका नेत्रप्रसाद खनालले जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको गलत प्रयोग गरी दुरुपयोग हुन थालेको गुनासो गरे। वैज्ञानिक वन व्यवस्थानलाई वनका कर्मचारी र केही टाठाबाठाले कमाई खाने माध्यम बनाएको आरोप उनको थियो।
यता, डिभिजन र सव डिभिजन वन कार्यालयहरुले भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बारे आम उपभोक्ता र सरोकारावालालाई बुझाउन विभिन्न समयमा विविध कार्यक्रम सञ्चालन गरिदै आएको दावी गर्ने गरेका छन्। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले भने, ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यक्रम लागु गर्दा सम्वन्धित क्षेत्रका उपभोक्तासंग छलफल भएकै हुन्छ। उनीहरुको सहमती विना लागु गरिएको होईन्। केही कमिकमजोरी भएको छ भने सुधार गर्न तयार छौँ।’
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको महत्वबारे सरकारले आम उपभोक्तालाई प्रष्ट पार्न नसक्दा विरोध आईरहेको तर्क धेरैको छ।
बैज्ञानिक वनमा सालको रुखको आयु ८० वर्ष मानेर सामुदायिक वनलाई ८० भागमा विभाजन गरी व्यवस्थापन गरिदै आएको छ। तर वैज्ञानिक वन व्यवस्थापनमा बुढा रुख काट्ने मात्रै हो की भन्ने आम बुझाई छ। तर संगसंगै नयाँ रुख उत्पादन गरिदै आएको कुराको भने हेक्का राखिएको छैन्। अर्कोतर्फ बैज्ञानीक बन व्यवस्थापन मार्फत आन्तरीक आम्दानी बढ्ने र रोजगारीका सम्भावना पनि बढ्ने लगातका विषयमा समेत धेरै अनभिज्ञ रहेका छन्।