सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित

२०७६ फाल्गुन २९, ०७:३९ खबर संवाददाता

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ। विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना भएपछि विश्व स्वास्थ्य संगठनले विश्व माहामरी घोषणा गरेको हो।

चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा नियन्त्रण हुँदै गर्दा विश्वका अन्य देशहरुमा यो तिव्ररुपमा फैलिइरहेको छ। हालसम्म १०० भन्दा बढी देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ। यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ।

त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन्। फलतः यतिखेर ५० हजार ८ सय ९१ जना मात्रै यसबाट संक्रमितको अवस्थामा छन्। निको हुन बाँकी संक्रमित मध्ये पनि ४५ हजार १४३ जनामा संक्रमणको मध्यम खालको असर देखिएको छ। यो भनेको ८९ प्रतिशत हो भने ५ हजार ७ सय ४८ जनाको अवस्था गम्भीर छ।

कोरोना बाट सबैभन्दा बढी संक्रमित ८० हजार ७ सय ९० चीनमा छन् भने चीनपछि इटाली १० हजार १४९ जना र इरानमा ९ हजार छन्। त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित रहे। १ हजारभन्दा कम संक्रमित हुनेहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन्। पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा स्वीडेन, नर्वे, बेलायत, डेनमार्क, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, मलेसिया, अस्ट्रेलिया, हंगकंग छन्।

सयभन्दा कम संख्यामा संक्रमित हुनेहरुमा चाहिँ क्यानडा, ग्रीस, आइसल्याण्ड, इजरायल आदि देशहरु छन्। कोरोनाभाइरसको संक्रमणका कारण सबैभन्दा बढी मृत्यु ३ हजार १ सय ५८ जना चीनमा, ६ सय ३१ जना इटाली, ३ सय ६४ जना इरान, ६० जना दक्षिण कोरिया र ४९ जना स्पेनमा भएका छन्। त्यसबाहेक, जर्मनी, फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जापान, नेदरल्याण्ड, बेलायत जस्ता देशहरुमा पनि क्रमशः ३, ३३, ३१, ४, १५, ५ र ६ जनाको मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस