कोरोनाः ३ घण्टासम्म हावा र ३ दिनसम्म प्लास्टिकमा बाँच्नसक्छ भाइरस
कोरोना भाइरस(कोभीड–१९) को महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ। स्वास्थ्य सम्वन्धी जर्नल मेड अर्काइभमा प्रकाशित पछिल्लो अनुसन्धानअनुसार कोरोनाको जिवाणु हावामा तीनघण्टासम्म बाँच्नसक्छ। त्यस्तै, प्लास्टिक वा स्टिलमा दुईदेखि तीन दिनसम्म यो जिवाणु बाँच्नसक्छ। तामाको सतहमा ४ घण्टा र कागजका सामाग्रीमा २४ घण्टासम्म बाँच्ने दाबी पनि अनुसन्धानले गरेको छ।
‘कोभीड १९ को संक्रमण विभिन्न सामाग्रीका सतहमा कसरी बाँच्छन् भन्ने विषय ती सामाग्रीको सतह, तापक्रम र वातावरणमा निर्भर गर्छ,’ ऊहानमा बस्ने भिरोलोस्टि याङ झान्कुले ग्लोबल टाइम्ससँग भनेका छन् ।
आपसी सम्पर्क, थुक, सासलगायत विभिन्न माध्यमबाट कोरोनाको संक्रमण फैलने विषयमा अधिकांश जानकार भएपनि त्यसरी फैलिएका जिवाणु केही घण्टादेखि केही दिनसम्म जीवित रहनसक्छन् भन्ने ख्याल गर्न जरुरी गरेको याङले बताए।
यस्ता अनुसन्धानले संक्रमण रोक्नका लागि सर्वसाधारणलाई नियमित हात धुन थप प्रेरित गर्ने याङले बताए। उनका अनुसार यसले स्वास्थ्यकर्मीलाई पनि कोभीड–१९ का बिरामीको सही व्यवस्थापन गर्न प्रेरित गर्छ। रासस