सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोनाको परिक्षणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मी नै असुरक्षित

२०७६ चैत्र ११, ०१:५७ जनक विष्ट

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) का संकास्पद विरामीको निगरानीमा खटिएका चिकित्सक तथा स्वास्थ्यहरु नै असुरक्षित रहेका छन्। काठमाडौँमा समेत कोरोनाको संक्रमण देखिएका बेला सुदूरपश्चिममा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचारका क्रममा स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने समाग्रीको प्रबन्ध गर्न नसकेपछि असुरक्षित बनेका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) का शंकास्पद विरामीको निगरानीमा खटिने स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने विशेष खालको पोशाक पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) तथा मास्कको अभाव रहेको हो। कञ्चनपुरको महाकाली अस्पतालसँग दुई थान पिपिई रहेकोमा कोरोना आशंकामा आईसोलेसन वार्डमा भर्ना भएकाहरुकै नमूना संकलनका क्रममा प्रयोग भएपछि अहिले चिकित्सक तथा स्वास्थ्यकमी जोखिम मोलेर काम गरिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठ बताउँछन्।

उनले अस्पतालले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने समाग्री खरिद गर्न खोजेपनि बजारमा उपलब्ध नभएकाले समस्या भएको छ। ‘एक महिना पहिले नै अर्डर गरेका थियौँ तर चीनमा संक्रमण फैलिएपछि देखि नै अभाव भएको रहेछ।’ उनले भने, ‘दुई थान पिपिई थियो त्यो पनि शंकास्पद विरामीको नमूना संकलनमै सकियो। खोजिरहेका छौँ प्रयास गर्दैछौँ।’

धनगढीको सेती प्रादेशिक अस्पतालमा पनि कोरोना भाईरसको परिक्षण क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने समाग्रीको अभाव छ। अस्पतालले अहिले उपलब्ध केही थान मास्क र पिपिई सेटलाई पुनः प्रयोग गरेर कोरोना आशंकामा पुग्नेहरुको नमूना संकलन गरिरहेको छ।

स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने समाग्रीको व्यवस्थापनको प्रयास भईरहेको अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई समाग्रीको अभाव भएको बताए। उनले सुरक्षाका समाग्रीको अभावमा जोखिम मोलेर भएपनि काम गरिरहेको बताए। त्यसको व्यवस्थापनका लागि आवश्यक पहल भईरहेको डाक्टर जोशीले बताए।

कोरोनाको संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले विशेष खालको पोशाक पिपिई र एन नाईन्टी फाईभ (एन–९५)मास्क आवश्यक पर्छ। नेपालमा पनि एक जना कोरोना संक्रमित भेटिसकेका बेला सुदूरपश्चिमका अस्पतालहरुमा भने उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकमीकै लागि आवश्यक पर्ने समाग्रीको व्यवस्थापन नभएको हो।

एकातीर जनशक्तिको अभाव र अर्कोतीर कोरोनाका सम्भावित बिरामीकै उपचारका लागि आवश्यक पर्ने समाग्री नभएपछि जोखिम मोलेर भएपनि उपचारमा खटिनुपर्ने बाध्यता चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आईलागेको छ। तर  त्यसरी जोखिम मोलेर काम गर्दा स्वयंम उनीहरुमा समेत संक्रमण हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।

सुदूरपश्चिमका चिकित्सकहरुले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई उपचारका लागि आवश्यक पर्ने सबै खालका समाग्रीको तत्काल व्यवस्थापन गर्न आग्रह गरेपनि आपूर्ती गर्न नसकिएको हो। तर सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने उपचारका लागि आवश्यक पर्ने उपकरण तथा अन्य समाग्रीको व्यवस्थापन भईरहेको बताए।

छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमणबाट चार सय बढि प्रभावित भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ। नेपालमा मंगलबार मात्र एकजना संक्रमीत भेटिएको सरकारले पुष्टि गरेको छ। सुदूरपश्चिम पनि कोरोनाको उच्च जोखिममा रहेका बेला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आवश्यक पर्ने उपकरण तथा समाग्रीकै व्यवस्थापन नभएको हो। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस