धनगढीको प्रयोगशालामा कम क्षमताका उपकरण पठाईएपछि परिक्षण सुस्त
संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा ल्याएको कोरोना परिक्षण प्रयोगशालामा कम क्षमताका उपकरण पठाएपछि समस्या भएको छ। कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा कम क्षमताका उपकरण भएको प्रयोगशाला स्थापना गरिएपछि नमूना परिक्षणमा ढिलाई भईरहेको छ।
सुदूरपश्चिममा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) दोस्रो चरणमा प्रवेश गरेका बेला अन्य प्रदेशको भन्दा कम क्षमताको प्रयोगशाला हुँदा परिक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले माग भन्दा पनि धेरै कम संख्यामा परिक्षण हुँदा ढिलाई भएको जनाए।
‘अहिले स्थापना गरिएको प्रयोगशालाकै क्षमता कम छ भन्ने कुरा आईरहेको छ।’ कार्कीले भने। एक घण्टा १४ मिनेटमा रिर्पोट आउने दावी गरिएपनि अहिले औसतमा दैनिक तीनवटा नमूना मात्रै परिक्षण भईरहेको पाईएको छ। अस्पतालका अनुसार ६ दिनको अवधीमा २१ वटा नमूना मात्र परिक्षण गरिएको छ।
पहिलो दिन एउटा, दोस्रो दिन र तेस्रो दिन तीन–तीन वटा, चौथो दिन चार वटा, पाँच दिन सोमबार ७ र छैठौँ दिन मंगलबार ३ वटा नमूना परिक्षण भएका छन्। सेती प्रादेशिक अस्पतालका लागि खटाईएका डाक्टर श्रवण कुमार मिश्रले दैनिक बढिमा ८ जनाको नमूना परिक्षण गर्न सकिने भएपनि विविध कारणले समस्या भएको प्रतिक्रिया दिए।
‘दैनिक एउटा सिफ्टमा गरे ४ जना हो, दुईमा ८–१० हो।’ उनले भने, ‘तर यहाँ पोजेटिभ र नेगेटिभ आईरहेका छन्। दोहो¥याएर परिक्षण गर्नुपर्ने हुन्छ। रिर्पोट ४ वटा गरेपनि दैनिक ५ देखि ७ वटा परिक्षण गरिरहेका छौँ।’ अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम कोरोना भाईरसको उच्च जोखिम भएपनि सुदूरपश्चिममै संघिय सरकारले कम क्षमताको प्रयोगशाला स्थापना गरेको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कम क्षमताको प्रयोगशालाका कारण परिक्षणमा ढिलाई हुन थालेपछि विकल्प खोज्ने दावी गरेको छ। अहिले प्रयोगमा रहेको सेती प्रादेशिक अस्पतालको ल्याबका अतिरिक्त दैनिक ९० जनाको नमुना परिक्षणको व्यवस्था मिलाउन आवश्यक व्यवस्थापनको माग गरिएको छ।
मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले परिक्षण बढाउनका लागि अर्को प्रयोगशालाको पनि व्यवस्थापना गर्ने गरी तयारी गरिएको बताए। उनले त्यसका लागि मुख्यमन्त्री कार्यालयलाई अनुरोध गरिएकाले उतैबाट नेपाल सरकारलाई अनुरोध गरिने बताए।
कार्कीका अनुसार कृषि विकास मन्त्रालय अन्तरगतको पशु सेवा कार्यालय र त्रिभुवन विश्व विद्यालयसँग भएको मेसिन उपलब्ध गराईदिन सरकारलाई अनुरोध भईरहेको हो। सरकारले कोरोनाको थप महामारी फैलिन नदिन तेस्रो पटक ८ दिन थपेको छ।
तर लकडाउनको अवधीमा कोरोनाका सम्भावित र शंकास्पद विरामीको नमूना संकलन गरी परिक्षण गर्नुपर्ने बेला त्यसो हुन सकेको छैन्।