वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको अपील
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।
चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो। संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो। डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ।’
टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन्। साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन्। अहिलेको अवस्थामा यो संख्या आँकलन गरिएको, तर यो संख्या केही परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ।