कलियुग
श्याम भण्डारी
यो कलियुग हो,
रत्नाकर डाँकु वाल्मीकि बन्लान नसोच्नु ।
कृष्णले मथुरा छोडी द्वारका जालान नठान्नु ।
यो कलियुग हो,
एकलव्यले औँला काटेर गुरुदक्षिणा देलान नचिताउनु ।
कृष्णले गरिब सुदामालाई मित्र बनाउलान अपेक्षा नगर्नु ।
यो कलियुग हो,
गणेशले झैँ माता पितालाई संसार मानेर परिक्रमा कसले गर्ला
श्रवणकुमारले माता पितालाई बोकेरै तिर्थ कसले घुमाउला र ।
यो कलियुग हो,
रामले भरत जस्तो भातृहृदयी भाई पाउलान सपना नदेख्नु ।
भरतले दाजु रामका खराउ राखेर शासन चलाउन आशै नगर्नु।
यो कलियुग हो,
अर्जुनले कृष्णजस्तो भरोसायोग्य सारथी पाउलान कल्पनै नगर्नु ।
रामले हनुमान जस्तो निस्वार्थ भक्त पाउलन सोच्दै नसोच्नु।
यो कलियुग हो,
यहाँ पाईन्छ त केवल लेनदेनको सम्बन्ध र स्वार्थमा अडिएका नाता ।
न्याय हराएको प्रमाण सोझालाई सुली र चोरलाई पुलिसको छाता ।
यो कलियुग हो,
धर्म हराएको संसारमा, धर्मकै नाममा चल्छन धेरै युद्ध ।
हिटलर र लादेनका अनुयायी धेरै हुने, चिन्दैनन धेरैले बुद्ध ।
यो कलियुग हो,
दयामाया, ईमान्दारिता र मानवता।
विरलै भेटिन्छ न्याय र सहिष्णुता ।
विरलै भेटिन्छ यहाँ,
सदकर्म, शान्ति र आध्यात्मिक चेतना ।
भेटिन्छ त केवल
शोषण, भेदभाव, हिँसा र अन्यायको वेदना ।।
छक्क नपर्नु यो असुरहरुको युग हो ।
अचम्म नमान्नु यो कालो कलियुग हो ।।
अचम्म नमान्नु यो कालो कलियुग हो ।।